काठमाडौं । नेपालीसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले नेपालमा निरन्तर सात वर्ष स्थायी बसोबास गरेपछि मात्र अङ्गीकृत नागरिकता प्राप्त गर्नसक्ने प्रस्ताव गरिएको छ ।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले सो प्रस्ताव गरेको हो ।
अङ्गीकृत नागरिकता दिने प्रावधानका सम्बन्धमा सांसद्हरुबीच मैतक्यता नहुँदा यस अघि नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक अगाडि बढ्न सकेको थिएन ।
प्रस्ताव अनुसार अङ्गीकृत नागरिकता प्राप्त गर्न चाहने महिलाले नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम भएको विवाह दर्ता प्रमाणपत्र तथा नेपालमा निरन्तर रुपमा स्थायी बसोबास गरेको सम्बन्धित वडा कार्यालयको सिफारिश पेश गर्नुपर्ने छ । साथै आफूले विदेशी नागरिकता वा सो सरहको राष्ट्रियता जनाउने कुनै प्रमाणपत्र नलिएको भए सोको प्रमाणसहित तोकिएको अधिकारी समक्ष निवेदन दिनुपर्ने प्रस्ताव गरिएको छ ।
नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलालाई नागरिकता नपाएसम्मको अवधिका लागि आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी स्थायी आवासीय अनुमतिपत्र प्रदान गर्न सकिने प्रस्तावमा उल्लेख छ । उक्त अनुमतिपत्रलाई नेपाली नागरिकताको प्रमाणपत्र सरह मान्यता दिइने र स्थायी आवासीय अनुमति पत्र अङ्गीकृत नागरिकता प्राप्त भएपश्चात स्वतः खारेज हुनेछ ।
समितिका अधिकांश सदस्यको रायका आधारमा तयार गरिएको उक्त प्रस्तावमाथि छलफल गर्न मंगलबार बसेको बैठकमा सहमति जुट्न सकेन ।
समितिका सभापति शशी श्रेष्ठले सहमति गरेर अगाडि बढ्न बारम्बार आग्रह गरे पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले उक्त प्रस्तावका बारेमा छलफल गर्न केही दिन समय माग गरेपछि बैठक निष्कर्षमा पुग्न सकेको थिएन ।
