काठमाडौं । क्वारेन्टाइनहरु आपराधिक क्रियाकलापकाे थलो भएको भन्दै सांसद्हरले चिन्ता व्यक्त गरेका छन् । बुधबार राष्ट्रिय सभाको शून्य समयमा बोल्ने सांसद्हरुले सो चिन्ता व्यक्त गरेका हुन् ।
राष्ट्रिय सभा सदस्य बिमला राई पौडेलेले सीसीएमसीमा महिला मन्त्रालयको अनिवार्य उपस्थितिको माग गर्नुभएको छ ।
क्वारेन्टाइनको अवस्था एकदमै दर्दनाक भएका कारण महिला, बालबालिका तथा वृद्धवद्धाका लागि असहज भएको उहाँले बताउनुभयो ।
क्वारेन्टाइनमा बस्ने महिलाहरुले क्वारेन्टाइनमा चुकुल समेत नभएको भन्दै गुनासो गर्ने गरेको भन्दै उहाँले सो माग गर्नुभएको हो ।
सांसद् शारदादेवी भट्टले क्वारेन्टाइनमा महिला हिंसा बढेकोले उनीहरुलाई होम क्वारेन्टाइनमा राख्नु पर्ने बताउनुभयो ।
सांसद रामनारायण विडारीले भाडा तिर्ने क्षमता नहुँदा विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फिर्ता गर्न आग्रह गर्नुभयो । यसैगरी युवाहरु कुलतमा फरेका कारण आपराधिक घटना बढेकोले त्यसतर्फ सरकारको ध्यान जानुपर्ने उहाँले बताउनुभयो ।
बैठकमा बोल्दै सांसद् विमला घिमिरेले हेटौंडाको सूर्यचोकमा एक महिलाको घरभित्र हत्या गरिएको घटनाका छानविन गर्नुपर्ने बताउनुभयो । बारम्बार यातना खेपेकी उनको हत्या भएको उहाँकाे भनाइ छ।
