काठमाडौं । महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङले नेपाललाई लैंगिकमैत्री देश बनाउने बताउनु भएकाे छ ।
बुधबार राष्ट्रिय सभा बैठकमा सांसद्हरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले सामाजिक रुपान्तरण, लैंगिकमैत्री नेपाल घोषण गर्ने दिशातर्फ सरकार उन्मुख भएको बताउनुभयो ।
महिला अधिकार र सिप विकासलाई बजेटले प्राथमिकता दिएकाे बताउँदै मन्त्री गुरुङले भन्नुभयाे- 'बजेटमा हिंसा न्युनिकरण र महिला सशक्तिकरणका विशेष कार्यक्रम समेटिएकाे छ ।'
बालबालिका मूक्त सडक बनाउन पनि मन्त्रालयले बजेट विनियोजना गरेको उहाँले बताउनुभयो । सडक बालबालिकाको उचित व्यवस्थापन गरिने उहाँले बताउनुभयो । बाल मजदूरमुक्त समाज कसरी बनाउने भन्ने बारेमा सरकार योजना नै बनाएर अघि बढेको उहाँले बताउनुभयो ।
जेष्ठ नागरिक मुलुकका निधि भएकाले आश्रममा राख्ने हाेइन ज्ञान, सिप र ध्यान केन्द्र स्थापना गरी जेष्ठ नागरिकको ज्ञान हस्तान्तरण गर्ने कार्यक्रम ल्याइएको उहाँले बताउनुभयो ।
देशका सार्वजनिक स्थलहरु अपाङगमैत्री बनाउने गरी सरकार अघि बढ्ने उहाँले बताउनुभयो । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको नाम परिवर्तन गर्नुपर्ने सुझाव अनुसार प्रक्रिया अघि बढाइएकाे पनि बताउनुभयाे ।
‘केही माननियहरुले यो मन्त्रालयलको नाम परिवर्तन गरेर सामाजिका विकास मन्त्रालय राख्ने प्रस्ताव ल्याउनु भएको छ, यस विषयमा कानुनी प्रक्रिया अघि बढाउँछाैं, यो सामाजिक क्षेत्रलाई समेट्ने मन्त्रालय भएकाले नाम सामाजिक विकास मन्त्रालय राख्दा राम्रो हुन्छ’- उहाँले भन्नुभयो ।
