काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री बसन्तकुमार नेम्बाङ्ले विगतका आयोजनालाई यसै बजेटबाट निरन्तरता दिइने बताउनुभएकाे छ।
राष्ट्रिय सभा बैठकमा विनियाेजन विधेयक माथि उठेका प्रश्नहरूकाे जवाफ दिदैँ उहाँले कोरोनाको कारण यस वर्ष कम रकम विनियोजन भएता पनि विगतका आयोजनालाई यसै बजेटबाट निरन्तरता दिइने बताउनुभयाे।
उहाँले आगामी वर्षबाट नेपाली राष्ट्रिय ध्यजाबाहक झण्डासहित जनकपुर–जयनगर रेल चल्ने समेत बताउनुभएको छ । काँकरभिट्टा इनरुवासम्मको रेलमार्ग निर्माको काम आगामी वर्षबाट सुरू हुने जानकारी समेत उहाँले दिनुभयाे ।
राष्ट्रिय गौरवका आयोजना हुलाकी मार्ग, मदनभण्डारी मार्ग र मध्यपहाडी मार्गमा यस वर्ष कम बजेट विनियोजन भए पनि आवश्यक थप रकम विनियोजन गरेर भए पनि काम अघि बढ्ने उहाँले बताउनुभयो । उहाँले तीन वर्ष भित्र यी मार्गहरु तयार हुने बताउनुभएकाे छ ।
आगामी आर्थिक वर्षमा कर्णालीको सडकको काम सम्पन्न गरी सबै जिल्ला सदरमुकाममा सडक पुर्याउने समेत उहाँले बताउनुभयो ।
नयाँ नगरपालिकामा एकीकृत सहरी विकास कार्यक्रम अघि बढेको उहाँले जानकारी दिनुभयाे । हिमाली क्षेत्र र दुर्गम पहाडी क्षेत्रमा समेत सहरी विकासका काम अघि बढ्ने उहाँले बताउनुभएकाे छ । देश भर २७ स्थानमा नयाँ सहरी कार्यक्रम सञ्चालन गरिने उहाँकाे भनाइ छ ।
