काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट संघीयता कार्यान्वयमा केन्द्रित रहेको बताउनुभएको छ । विनियोजन विधेयक माथि राष्ट्रिय सभामा सांसद्हरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले स्थानीय र प्रदेश सरकार मार्फत धेरै काम हुने भएकोले यसले संघीयता कार्यान्वयना मद्दत पुर्याउने बताउनुभयो ।
देशभरि इन्टरनेटको पहुँच पुर्याउने गरी काम भइरहेको बताउँदै सूचना प्रविधि मन्त्रालयकाे जिम्मेवारी समेत सम्हालिरहनु भएका उहाँले नयाँ नेपालको फ्रेममा जान इन्टरनेटको पहुँच विस्तार गर्न लागिएको जानकारी दिनुभयो ।
सञ्चार माध्यमलाई यस वर्षको बजेटले सबैभन्दा धेरै सम्बोधन गरेको भन्दै कोरोना बिमा, नवीकरण लगायतमा छुटकाे व्यवस्था गरेर राहत दिएको उहाँले बताउनुभयो ।
अब विज्ञापन बोर्ड गठन गरेर वैज्ञानिक रुपमा विज्ञापन वितरण गरिने उहाँले बताउनुभयो । लोककल्याणकारी विज्ञापन अनलाइनले समेत प्राप्त गर्ने उहाँले बताउनुभयो ।
जनता आवास कार्यक्रम मूलत दलित लक्षित कार्यक्रम भएको पनि उहाँले जानकारी दिनुभयो । यसैगरी, सुकुम्बासी, स्वरोजगार, छात्रावृत्ति, सामाजिक सुरक्षा, महिला उद्यमशिलता, राष्ट्रपति शिक्षा कार्यक्रम लगायतका याेजनाले दलितलाई समेट्ने उहाँले बताउनुभयो ।
व्यक्ति वा निर्वाचित सांसद्लाई सांसद् विकास कोषको रकम नदिएको भन्दै सो रकम स्थानीय तहको विकासको लागि दिएको रकम भएकोले यसमा विवाद नगर्न उहाँले आग्रह गर्नुभयो । ‘यो निर्वाचन क्षेत्रमा समानुपातिक रुपमा जाने रकम हो ’, उहाँले भन्नुभयो ।
