काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगारीबाट फर्कनेलाई समृद्ध नेपाल बनाउन उपयोग गर्नुपर्ने बताउनुभएको छ ।
बुधबार बसेकाे राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयकमाथि सांसद्हरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले प्रधानमन्त्री रोजगार कार्यक्रमले विदेशबाट आएका श्रमिकलाई रोजगारी सृजना गर्न सक्ने बताउनुभयो ।
विदेशबाट आउने नेपालीलाई चुनौती हाेइन अवसरका रुपमा लिनुपर्ने भन्दै उहाँले कोरोनाका कारण फर्किएका ३० देखि ३५ लाख युवालाई स्वदेशमा नै रोजगारी दिन सकिने बताउनुभयो ।
काेराेनाका कारण विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार गर्ने काम सुरु भइसकेको जानकारी दिँदै मन्त्री यादवले उद्धारका कामलाई अझ गति दिइने बताउनुभयो । उहाँले वैदेशिक रोजगारीबाट फर्केका युवाको अनुभव तथा सीपको तथ्यांक संकलन गर्ने काम सुरु भइसकेको बताउनुभयो ।
युवालाई उत्पादनमा लगाउने सके ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई मुर्त रुप दिन सकिने उहाँको भनाई छ । मन्त्रालयले श्रमिक सूचना बैंक स्थापना गरी श्रमिकका सबै सूचना राख्ने उहाँले बताउनुभयो ।
सामाजिक सुरक्षा र संरक्षणका कार्यक्रमलाई एकीकृत रुपमा अघि बढाएको मन्त्री यादवले जानकारी दिनुभयो । अनौपचारिक क्षेत्रमा रहेका कृषि मजदूरलाई श्रमिक सूचना बैंक स्थापनापछि सामाजिक सुरक्षा कार्यक्रममा जोड्ने उहाँको भनाई छ ।
श्रममा कुनै पनि बालबालिकालाई नलगाउने कुरामा मन्त्रालयले कडाइ गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।
कृषि तथा पशुपक्षी, वन तथा वातावरणलगायत सरोकारवाला मन्त्रालयसँग समन्वय गरेर थप रोजगारी सिर्जना गर्नेतर्फ मन्त्रालयको ध्यान केन्द्रित भएको उहाँको भनाइ थियो ।
रोजगारदाता र श्रमिकबीच असल श्रम सम्बन्ध कायम गर्नेतर्फ सरकार अगाडि बढेको उहाँको भनाइ थियो । विदेशी नागरिकलाई अनिवार्य श्रम स्वीकृति लिने व्यवस्था मिलाइएको जानकारी दिँदै उहाँले श्रमिक, ट्रेड युनियन र रोजगारदातालाई एकै स्थानमा राखेर असल श्रम अभ्यास कायम गर्ने कामको थालनी गरिएको बताउनुभयो ।
