काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले खर्च नभएर विदेशमा अलपत्र परेका नेपालीका लागि उद्धार उडान गर्ने बताउनु भएकाे छ । उनीहरुका लागि नेपाल सरकारले उद्धार उडान गर्ने मन्त्री भट्टराईकाे भनाइ छ ।
विनियाेजन विधेयकमाथि राष्ट्रिय सभा बैठकमा सांसद्हरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री भट्टराईले कोरोनाको कारण हवाई सेवा बन्द हुँदा बाहिर बसेका नागरिकको पारिवारिक बिछोड भएको बताउनुभयाे ।
नेपालीले रगत पसिना बगाएको मुलुकले अप्ठेरो अवस्थामा नेपालीलाई अलपत्र पारेर छाड्न नहुने भन्दै उहाँले यस विषयमा संसद्ले आवाज उठाउनुपर्ने पनि बताउनुभयाे ।
लकडाउनअवधिभर १ सय ८ वटा अन्तर्राष्ट्रिय उडान भएको पनि उहाँले बताउनुभयाे ।
नेपालबाट विदेश जानेले तिरेको रकम भन्दा धेरै कम भाडादर तोकेर सरकारले नेपालीलाई स्वदेश फिर्ता ल्याउन लागेको उहाँले बताउनुभयो । सांसद्हरुले कुरै नबुझी सरकारको आलोचना गरेको मन्त्री भट्टराईले गुनासो छ ।
कोरोनाका कारण पर्यटन क्षेत्रमा ठूलाे असर परेकाे बताउँदै मन्त्री भट्टराईले थला परेकाे पर्यटन क्षेत्र कहिले उठ्ने ठेगान नरहेकाे बताउनुभयाे ।
‘हामीले नेपाल भ्रमण वर्ष २०२० रद्द गर्याैं, पर्यटन क्षेत्र कसरी चलायमान हुन्छ भन्ने अझै पनि पूर्वानुमान गर्न सकिने अवस्था छैन’ - उहाँले भन्नुभयो । भूकम्पले क्षति भएका सांस्कृतिक धरोहरको निर्माण कार्य चलिरहेको भएपनि कोरोनाको कारण त्यति प्रभावकारी हुन नसकेको उहाँले बताउनुभयो ।
भूकम्पबाट क्षति भएका सांस्कृतिक सम्पदाहरुको पुर्ननिर्माको काम आगामी वर्ष पूरा हुने गरी बजेट छुटाइएको उहाँले बताउनुभयो ।
