काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले काेराेना संक्रमणविरुद्ध एक भएर लड्न अाग्रह गर्नुभएकाे छ ।
बुधबार राष्ट्रिय सभा बैठकमा सांसद्हरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री ढकालले भन्नुभयाे - 'कोरोना विश्वको साझा शत्रु हाे, यसलाई परास्त गर्न एकताबद्ध हुन जरुरी छ, त्यसैले राजनीतिभन्दामाथि उठेर संक्रमणविरुद्ध लड्न म अाग्रह गर्छु ।
विश्वका साधन स्रोत सम्पन्न राष्ट्रले समेत घुँडा टेकेको अवस्थामा नेपालले सीमित साधन स्रोतबीच पनि कोरोनाविरुद्ध लडिरहेको उहाँले जानकारी दिनुभयो । ‘सीमित साधन स्रोतबीच पनि यसलाई हामीले न्यून क्षतिमा कायम राखेको छौं, यो हामी सबैको साझा प्रयासले हो’ - उहाँले भन्नुभयो ।
भनेजति गर्न नसके पनि कोरोना परीक्षणमा अरु मुलुक भन्दा नेपालमा राम्रो गर्न सकिएको उहाँले बताउनुभयो । नेपालको परीक्षणको दर भारत, श्रृलंका र जापानको भन्दापनि माथि रहेको उहाँले बताउनुभयो ।
अहिलेसम्म २२ ठाउँबाट पीसीआर परीक्षण भइरहेको भन्दै मन्त्री ढकालले अब छिट्टै ७ ठाउँबाट ठूलो मेसिनले परीक्षण गर्ने बताउनुभयो । काेराेनाकाे उपचारका लागि चार महिना पुग्ने अाैषधि रहेकाे पनि उहाँले बताउनुभयाे । अरु राेगका लागि पनि अाैषधि माैज्दात रहेकाे उहाँले बताउनुभयाे ।
कोरोनाका कारण आशंकित भएर कोही पनि बस्नु नपर्ने बताउँदै मन्त्री ढकालले आवश्यकता अनुसार सबैको परीक्षण र उपचार सरकारले गर्ने बताउनुभयो । पैसा अभावले कोरोना उपचार नरोकिने उहाँले बताउनुभयो । महामारी बढ्दै गए अन्य मन्त्रालयमा छुट्याएका विकास निर्माणका बजेट समेत कटौती गरेर कोरोना उपचारमा खर्च गर्ने उहाँकाे भनाइ छ ।
क्वारेन्टाइन व्यवस्थान पनि अन्य मुलुकको भन्दा नेपालमा धेरै राम्रो भएको उहाँले बताउनुभयो । क्वारेन्टाइनमा बलात्कारका घटना हुनु निकै दुखद रहेकाे उहाँले दाेषीलाई हदैसम्मको दण्ड दिने बताउनुभयाे ।
१० अर्बको फाटवारी पछि दिने बताउँदै सरकारले भष्ट्राचार नसहने भन्दै मन्त्रीहरु जुनसुकै अग्नि परीक्षामा उभिन सक्षम रहने प्रष्ट पार्नुभयाे ।
सरकार पारदर्शी भएको बताउँदै उहाँले भन्नुभयो- ‘सरकार भ्रष्टचार गर्दैन, हुन दिँदैन, भए कारबाही गर्छ, विगतमा बिग्रिएको बानीका आधारमा औलो नसोझ्याअाैं, भ्रष्टाचार भएको रहेछ भने जुनसुकै कसिमा उभिन पनि तयार छु’ - उहाँले भन्नुभयो ।
