काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले अागामी वर्षको बजेट कोरोना र राष्ट्रिय सुरक्षामा केन्द्रित भएको बताउनुभएको छ ।
विनियोजन विधेयकमाथि सांसद्हरुले उठाएका प्रश्नको बुधबार राष्ट्रिय सभामा जवाफ दिँदै मन्त्री थापाले मन्त्रालयका लागि छुट्याइएकाे बजेट काेराेना र राष्ट्रिय सुरक्षामा केन्द्रित रहेकाे बताउनुभयाे ।
‘कोरोना र आर्थिक संकटले उत्पन्न गरेको सामाजिक र राष्ट्रिय सुरक्षाको समस्या हल गर्न बजेट विनियोजन गरिएको हो’ - उहाँले भन्नुभयाे । सुदृढ सुरक्षा, सुशासन, स्थायित्व र स्थिरताले मात्र समृद्धि प्राप्त हुने थापाले बताउनुभयो ।
सुरक्षा व्यवस्थापनको चुनौती सामना गर्न सरकारले नयाँ रणनीति बनाएको उहाँले बताउनुभयो । संघीयता कार्यान्वयन लागि नेपाल प्रहरीको समायोजन अन्तिम चरणमा पुगेको पनि उहाँले जानकारी दिनुभयो ।
काेराेना प्रकोपले सिर्जना गरेको चुनौती सामाना गर्न गृह मन्त्रालय र मातहतका निकाय सक्रिय भएर लागेको उहाँले बताउनुभयाे । उहाँले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी अग्रपङ्क्तिमा रहेर कोभिड–१९ को संक्रमण रोक्न खटिएको जानकारी दिनुभयो ।
समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई दुर्व्यसन तथा लागू औषध नियन्त्रणको लागि अझ प्रभावकारी रुपमा अघि बढाउने उहाँले बताउनुभयो । दुर्व्यसन घटाउन विशेष कार्यक्रम र बजेटको व्यवस्था गरिएको समेत उहाँले बताउनुभयो ।
सीमा व्यवस्थापनका लागि ५ सय ठाउँमा वाेर्डर आउटपोष्ट स्थापना गरिने लक्ष्य रहेको उहाँले बताउनुभयो । अहिलेसम्म १ सय २९ ठाउँमा बोर्डर आउटपोष्ट निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । अहिले करिब २३ हजार सशस्त्र प्रहरी सीमा क्षेत्रमा परिचालन गरिएको उहाँको भनाइ छ ।
मन्त्री थापाले भारतबाट आएका नागरिकलाई सुरक्षित रुपमा नेपाल भित्र्याउन र क्वारेन्टाइनको व्यवस्थापनमा सुरक्षा कर्मचारीले प्रभावकारी रुपमा काम गरिरहेको बताउनुभयाे । मनसुनजन्य विपद् जोखिम न्यूनीकरणका लागि जिल्ला, प्रदेश र स्थानीय तहमा विपद् व्यवस्थापन समितिले काम गरिहेको उहाँले बताउनुभयाे
तेत्तीस किलो सुन प्रकरणका विषयमा ठूला माछा छाडेको भन्ने सांसद्को जिज्ञासामा उहाँले भन्नुभयो- 'गृह मन्त्रालयले माछा समातेको हो, त्यसलाई थुनेर राख्ने जिम्मेवारी अदालतको भएकाले ठूलो र साना माछा छाडेको भन्ने कुरामा न्यायपालिका जिम्मेवार छ ।' उहाँले गृहमन्त्रालयले ठूला माछा समातेर नै कारवाहीको दायरामा ल्याएको बताउनुभयो ।
मन्त्री थापाले अपराध नियन्त्रणमा ९५ प्रतिशत प्रहरी सफल भएको बताउँदै क्वारेन्टिनमा बलात्कार भएको भनिएको घटनाको विषयमा आरोपीलाई कानूनको दायरामा ल्याइएको बताउनुभयाे ।
गृहमन्त्री थापाले अध्ययागमनमा स्वदेश फर्कन नपाएका विदेशी नागरिकको भिसाको मिति विस्तार गर्दा शुल्क नलिने निर्णय भएको जानकारी दिनुभयो ।
