काठमाडौं । उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले नेपाली सेना लोकतान्त्रिक सरकारको मातहतमा सञ्चालित अनुशासित निकाय भएको बताउनु भएको छ ।
विनियोजित बजेटमाथि बुधबार राष्ट्रिय सभा बैठकमा सांसद्हरुले उठाएको प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री पोखरेलले नेपाली सेनालाई अनावश्यक विवादमा नपार्न आग्रह गर्नुभयो । कानुनी व्यवस्था अनुसार नै नेपाली सेना परिचालन र प्रयोग हुने उहाँले प्रष्ट पार्नुभयो ।
नेपाल सरकारले संविधान अनुसार नै नेपाली सेनालाई विकास र विपद् व्यवस्थापनमा परिचालन गर्न सक्ने उहाँले बताउनुभयो । ‘राष्ट्रिय संकट उत्पन्न भए निश्चित विधि प्रयोग गरी नेपाली सेना परिचालन गर्न सकिने कानूनी व्यवस्था छ, भविष्यमा पनि कानूनी प्रावधान अनुरुप नेपाली सेना परिचालन हुने छ’ - उहाँले भन्नुभयो ।
जनताको स्वास्थ्य जोगाउन नेपाली सेनालाई सहयोगी भूमिका निर्वाह गर्ने गरी खटाइएको उहाँले प्रष्ट पार्नुभयो । सेनाले स्वास्थ्य सामग्री ल्याएर कुनै व्यापार गरेको नभई सरकारले तोकेको ठाउँमा पुर्याएको उहाँले प्रष्ट पार्नुभयो ।
‘सेनाले सरकारले दिएको जिम्मेवारी कुशलतापुर्वक निर्वाह गरिरहेको छ । सेनाले खरिद गरेको सामग्रीमा कुनै अनियमितता नगरेको म स्पष्ट पार्छु’- उहाँले भन्नुभयो ।
भौगोलिक अखण्डता र राष्ट्रिय एकता सरकारको पहिलो प्राथमिकताको क्षेत्र भएको पनि उहाँले बताउनुभयो । देशलाई वाह्य असुरक्षा भएको अवस्थामा सेनालाई सिमानामा पठाउने कुरा कसैले सिकाउनु नपर्ने उहाँले बताउनुभयो ।
