काठमाडाैं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वार्ताका माध्यमबाटै भारतसँगका सबै समस्या समाधान गर्न नेपाल दृढ रहेको दोहोर्याउनु भएकाे छ । इच्छाशक्ति भएमा महामारीका बेला पनि वार्ता गर्न सकिने उहाँकाे भनाइ छ ।
राष्ट्रिय सभाको बुधबार बसेकाे बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत परराष्ट्र मन्त्रालयमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले साे कुरा बताउनु भएकाे हाे ।
इतिहासदेखि थाँती रहेका विषयको निरुपण वार्ताबाटै हुने नेपालको मान्यता रहेको र इच्छाशक्ति भएमा महामारी त्यसको बाधक नहुने यथार्थलाई भारतले आत्मसात् गर्नेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो । यद्यपि उहाँले भारतको नाम उच्चारण भने गर्नुभएन ।
नेपालको नयाँ राजनीतिक एवं प्रशासनिक मानचित्रमा समेटिएका भूभागमाथि नेपालको भोगचलन कायम गर्न सरकार दृढतापूर्वक अघि बढेको भन्दै उहाँले त्यसका लागि कूटनीतिक प्रयासलाई अझ प्रभावकारी तुल्याइने बताउनुभयो ।
'हामी सत्यको पक्षमा छौँ र इतिहासले दिएको दायित्व पूरा गर्न प्रतिबद्ध छौं, ऐतिहासिक सन्धि–सम्झौता, प्रमाण र तथ्यले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि भएको पुष्टि हुन्छ'- उहाँले भन्नुभयाे ।
भारत र चीनसँग सुमधुर मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने सरकारको घोषित नीति रहेको बताउँदै मन्त्री ज्ञवालीले उनीहरूका सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै सन्तुलित सम्बन्ध कायम गर्ने नीतिबाट नेपाल अविचलित रहेको स्पष्ट गर्नुभयो ।
मन्त्रालयले सम्पादन गर्ने कामको प्रकृतिअनुसार चालू खर्च अधिक र पूँजीगत खर्च कम भएको स्पष्ट गर्दै उहाँले ‘पब्लिक डिप्लोमेसी’ प्रवर्द्धन गर्ने योजनामा मन्त्रालय रहेको जानकारी दिनुभयो ।
मन्त्री ज्ञवालीले आन्तरिक नीति र बाह्य परिस्थितिबीच तालमेल मिलाउँदै सञ्चालन गर्नुपर्ने परराष्ट्र नीति संवेदनशील विषय भएको यथार्थलाई मनन गर्दै राष्ट्रको एकल आवाज र ऐक्यबद्धतालाई प्रतिविम्बित गर्न राज्यद्वारा स्थापित संयन्त्रमार्फत त्यसो गर्दै आएको बताउनुभयो ।
स्थापित र मान्य अन्तरराष्ट्रिय प्रचलनअनुरुप सम्बद्ध सबै पक्षले कूटनीतिक आचारसंहिताको निष्ठापूर्ण पालना गर्न तथा परराष्ट्र मामिला र कूटनीतिक विषयमा सार्वजनिक रुपमा विचार र धारणा व्यक्त गर्दा सोहीअनुरुपको संवेदनशीलतालाई आत्मसात गर्न उहाँले अनुरोध गर्नुभयो ।
नेपालको परराष्ट्र नीतिको तर्जुमा र कार्यान्वयन बाह्य विश्व तथा अन्तरराष्ट्रिय सङ्घसंस्थाहरुसँग द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय सम्बन्ध विस्तार, कूटनीतिक माध्यमबाट नेपालको राष्ट्रियहित प्रवर्द्धन, अन्तररष्ट्रिय जगतमा नेपालको उज्यालो छवि निर्माण, आर्थिक तथा विकास कूटनीति सञ्चालन गरी देश विकासमा सहयोग पुर्याउन स्रोत र साधनले भ्याएसम्म मन्त्रालयले काम गरिरहेको उहाँकाे भनाइ छ ।
