काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले खेलाडीको सुरक्षामा विशेष ध्यान दिएको बताउनुभएको छ ।
राष्ट्रिय सभाको बुधबार बसेकाे बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालयमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयाे - 'सरकारले खेलाडीको सुरक्षाका लागि दुर्घटना बीमा, स्वास्थ्य बीमालगायत काम गर्न गर्दैछ ।'
मन्त्री विश्वकर्माले खेलाडीको सम्मानका लागि कुनै कसर बाँकी नराखेको र खेलाडीलाई सहयोग गर्न सरकार सधैँ तत्पर रहेको बताउनुभयो । गत वर्ष मंसिरमा नेपालमा सम्पन्न १३औँ सागमा नेपालले महत्वपूर्ण उपलब्धि हासिल गरेको भन्दै उहाँले सागमा पदक जित्ने खेलाडीलाई उचित सम्मान गरिएको बताउनुभयो ।
मन्त्री विश्वकर्माले पदक जितेका खेलाडीलाई रकम उपलब्ध गराएको भन्दै पेश्की फछ्र्योट गर्न ढिला भएका कारण केही प्रशिक्षकलाई रकम उपलब्ध गराउन ढिला भएको बताउनुभयो ।
आगामी आर्थिक वर्षदेखि सागमा स्वर्ण पदक विजेता खेलाडीलाई नगद पुरस्कारको व्यवस्था गरिएको उहाँले स्पष्ट पार्नुभयो । सागमा स्वर्ण पदक विजेता खेलाडीलाई सरकारले मासिक ६ हजार उपलब्ध गराउने गरी बजेट विनियोजन गरेको छ ।
