काठमाडाैं । कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले कृषि उत्पादनका लागि मलको अभाव नहुने बताउनुभएको छ ।
विनियोजन विधेयक, २०७७ अन्तर्गत कृषि तथा पशुपक्षी विकास मन्त्रालयलगायत विभिन्न शीर्षकमाथि राष्ट्रिय सभा बैठकमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले मल अभाव नहुने बताउनु भएकाे हाे ।
गत वर्ष तीन लाख मेट्रिक टन मल ल्याएको र यस वर्ष एक लाख पाँच हजार मेट्रिक टन मल किन्ने तयारी गरेको मन्त्री भुसालले जानकारी दिनुभयो । 'कोरोनाका कारण १० हजार मेट्रिक टन मात्र मल ल्याएका छौँ, ११ लाख मेट्रिक टन बाटोमा छ, मल अभाव भएको छैन, मलको हाहाकार भएको होइन, अभाव हुन दिन्नाैं'- उहाँले भन्नुभयाे ।
मन्त्री भुसालले कृषि क्षेत्रको कार्यक्रम ठीक ढङ्गले अगाडि बढेको जानकारी गराउँदै कृषिमा क्रान्ति नै गर्ने तयारी सरकारले गरिरहेको बताउनुभयाे । सबै प्रदेशले कृषिमा लगानी गर्न बजेट छुट्याएकोमा उहाँले खुशी व्यक्त गर्नुभयो ।
उहाँले सबै तरकारी विदेशबाट आयो नेपालको सबै तरकारी कुहियो भनिएको तथ्य सत्य नभएको र गोलभेंडा, हरियो खुर्सानीजस्ता वस्तु नेपाली उत्पादनले पुग्ने गरेको बताउनुभयो । आगामी दिनमा धेरै फलफूल र तरकारी स्वेदशमै उत्पादन हुने पनि उहाँले बताउनुभयो ।
-रासस
