काठमाडौं । नेपालको संविधान संशोधन दोस्रो संशोधन विधेयक राष्टिय सभा बैठकबाट सर्वसम्मतिले पारित भएको छ ।
लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायत नेपालको भूभाग समेटिएको मानचित्र निशान छापमा राख्न सरकारले ल्याएको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ सर्वसम्मतिले पारित भएको हो ।
राष्टिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयक पारित गरेको घोषणा गर्दा तालीको गडगडाहटले बैठक कक्ष गुञ्जायमान भयो । पारित भएको घोषणा गर्दा सबै सांसद्हरु अनुहार खुशीले धपक्क बलेका थिए ।
कानुन न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेको प्रस्तावमा विधयेक निर्णयार्थ पेस भएको हो । बैठकमा उपस्थित ५७ जना सांसद्ले विधेयकको पक्षमा मतदान गर्नुभयाे ।
राष्ट्रिय सभाको नियमवली १२९ अन्तर्गत हस्ताक्षरसहित मतविभाजनद्वारा पारित भएको हो । राष्ट्रिय सभाका ५८ सांसद्मध्ये एक जना अध्यक्ष हुनुहुन्छ ।
साे विधेयक अब प्रतिनिधि सभामा जानेछ । सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर साे विधेयक प्रमाणिकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पठाउनुहुनेछ ।
राष्ट्रपति भण्डारीले प्रमाणिकरण गरेपछि नेपालको संविधानको अनूसूची ३ मा रहेको निशान छाप परिवर्तन हुनेछ अर्थात संविधान संशाेधन हुनेछ । पूरानो मानचित्र हटाएर नयाँ राखिनेछ । नेपाल राजपत्रका प्रकाशित भएपछि सो विधेयक लागू हुनेछ ।
सरकारले वास्तविक भूमि अनुसारको नेपालको मानचित्र निशान छापमा समेट्न संविधान संशोधन विधेयक ल्याएको हो । जेठ ५ गते बसेको मन्त्रिपरिषद् बैठकले नयाँ मानचित्र स्वीकृत गरेको थियो ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले जेठ ७ गते भारतले अतिक्रमण भूमि समेटेर नयाँ मानचित्र जारी गरेको थियो । नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले जेठ ९ गते संघीय संसद् सचिवालयमा संविधान संशोधन विधेयक दर्ता भएको थियो ।
