काठमाडौं । राष्ट्र, राष्ट्रियता, स्वाभिमान र स्वाधिनताको पक्षमा रगत बगाउन पछि नपर्ने नेपाली मन र मुटु फेरि एक पटक राष्ट्रियताको पक्षमा एक भएको छ ।
राष्ट्रिय सभाकाे बिहीबार बसेकाे बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपालको संविधान दोस्रो संशोधन विधेयक माथिको दफावार छलफलमा सांसद्हरुले सो अपार एकता देखाएका हुन् ।
यसअघि सांसद्हरुले उठाएको प्रश्नको जवाफ दिँदै कानुन न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले राष्ट्रियताको सवालमा सबै दल एक ठाउँमा उभिएको आजको दिन सम्पूर्ण नेपाली जनताले दीप प्रज्वलत गरेर खुसीयाली मनाउने दिन भएको बताउनुभयो ।
संविधानले आधिकारिक रुपमा नयाँ नेपालको मानचित्रलाई समेटेको दिन भएकाले यो दिन गौरवपूर्ण दिन भएकोे उहाँले बताउनुभयो । आजको दिनले नेपाली जनतालाई खुसी दिएको भन्दै उहाँले सबै नेपालीलाई दीप प्रज्वलनमा सहभागी हुन आग्रह गर्नुभयाे ।
नेपालले सधैं तथ्य र प्रमाणका आधारमा कुरा गर्ने स्मरण गर्दै उहाँले ढिलै भएपनि नेपालको मानचित्रमा नेपाली भूमि समेट्न सफल भएको बताउनुभयो । ‘अहिले पनि नेपालले तथ्य प्रमाणका आधारमा कालापानीको भूमि हाम्रै हो भनी दावी गरेको हो’- उहाँले भन्नुभयाे ।
स्वाभिमानी नेपालीले राष्ट्रकाे बारेमा चिन्ता गर्नु स्वभाविक भएको बताउँदै उहाँले जनताको भावना अनुसार वार्तामा बस्दा कुनै पनि प्रमाण नछुटाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
