काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) सम्झाैताबारे नबुझेरै विरोध गरिएको बताउनुभएको छ ।
राष्ट्रिय सभा बैठकमा सांसद्का प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले एमसीसी नपढेकाले मात्र यसकाे विराेध गरेकाे बताउनुभयाे । 'अहिले केही/केहीले हल्ला चलाएका छन्, पढ्न अल्छी लाग्छ कि के हो ? एमसीसी पढेका मानिस त्यति भेटिनँ, एमसीसी सम्झौता खोजेर ल्याएर पढे हुन्छ, पढ्ने भन्दा हल्लाका भरमा कुद्ने र जसरी भए पनि विरोध गर्न पाए भयो भन्ने कस्तो चिन्तन हो ?' -उहाँले भन्नुभयाे ।
खुट्टाले टेकेर हिँड्न छाडेर टाउकाले टेकेर हिँड्ने, हातले टेकेर खुट्टा ठाडो पारेर हिँड्ने अभ्यास गर्न किन जरुरी छ भन्ने प्रश्न गर्दै उहाँले भन्नुभयाे - 'खुट्टाले टेकेर हिँड्नुपर्छ, खुट्टाले टेकेर हिँड्ने भनेको जे त्यसमा प्रबन्ध छ, त्यो प्रबन्ध पढेर ठीक बेठीक यहाँयहाँ छ भन्नुचाहिँ एउटा कुरा हो, लहैलहैमा लौ अमेरिकी सेना आउने भयो, कहाँ पढ्छन् ? के पढ्छन् ?'
कागले कान लग्यो भनेर धेरै जना दौडिरहेको तर कान छाम्ने चलन नरहेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
'कागले कान लग्यो भनेर भन्दा, लाँदा त दुख्छ होला नि, दुख्या छैन भने होइन होला नि भन्ने थाहा पाउनुपर्यो नि पहिला, दुख्या छैन तैपनि सुटुक्कै लगेछ कि भन्ने हो भने पनि छाम्नुपर्यो नि, मेरो पनि कान छ कि छैन भनेर ? दुख्यो दुखेर वास्ता नगर्ने, छ कि छैन नछाम्ने लहैलहैमा कुद्ने यो प्रवृत्ति अचम्म लाग्छ'- उहाँकाे भनाइ छ ।
एमसीसी सडक र सदनकाे विषउ बनेकाे भन्दै प्रधानमन्त्री अाेलीले देशको सार्वभौमसत्ता र राष्ट्रियता भन्दा अरु कुनै कुरा ठूलो नभएको बताउनुभयो । देश विकास हुन थालेकाेमा चिन्ता गर्नेहरुपनि भेटिएकाे बताउँदै प्रधानमन्त्रीले भन्नुभयाे - 'सम्झौतामा के लेख्या छ ? के यस देशमा विकास हुन आँटयो भन्ने चिन्ता हो ? के यस देशमा विकासका लागि अनुदान आयो भन्ने चिन्ता हो ? ठीकै छ यस विषयमा माननीयहरू समक्ष मेरा विचार कुनै समय राख्नेछु ।'
