काठमाडाैं । अर्थमन्त्री डा.खतिवडाले काेराेनाका कारण प्रभावित अर्थतन्त्रलाई क्रमशः गतिशील बनाउन निजी क्षेत्रलाई विश्वासमा लिएर प्रोत्साहन दिइने बताउनुभएको छ ।
राष्ट्रिय सभा बैठकमा आर्थिक विधेयक २०७७ माथिको छलफलका क्रममा मन्त्री डा.खतिवडाले भूकम्पपछिको पुनःस्थापना र पुनःनिर्माणको अनुभवका आधारमा अगाडि जान सकिने बताउनुभयाे । उहाँले हाल मानवीय स्वास्थ्य समस्याबीच अर्थतन्त्रका केही सबल पक्ष कायमै रहेको बताउनुभयो ।
'श्रम बजारमा टुटेको हाम्रो सम्बन्धलाई पुनः संयोजन र आपूर्ति शृङ्खलालाई सहज गरिनेछ । अहिले पनि आयातमा क्रमिक सुधार हुँदै छ' उहाँले भन्नुभयाे- 'हामी निजी क्षेत्रलाई विश्वासमा लिएर प्रोत्साहन दिन ऋण र कर छुटका व्यवस्थाहरु लागू गर्दैछौँ । आत्मनिर्भर अर्थतन्त्रमा जाने हाम्रो लक्ष्यमा सबैको साथ र सहयोग आवश्यक छ ।'
मन्त्री खतिवडाले कोरोना सङ्कट कति लामो समयसम्म रहन्छ र सरकारका लक्ष्य कति सरल वा छिटो ढङ्गले जान्छ भन्ने कुरा अर्थतन्त्रको विकासमा भर पर्ने बताउनुभयाे । उहाँले आगामी आर्थिक वर्षको राजश्वको शीर्षकगत बाँडफाँटअन्तर्गत राजश्व, भन्सार, अन्तःशुल्क, अन्य कर र गैरकरका प्रक्षेपणको विवरण समेत अवगत गराउनुभयो ।
सरकारले आगामी आवका लागि १० खर्ब ११ अर्ब रूपैयाँको राजश्वको लक्ष्यसहित त्यसको २९ दशमलब नौ प्रतिशत मूल्य अभिवृद्धि करबाट असूल गरिने विधेयकमा प्रस्ताव गरेको छ ।
छलफलमा कांग्रेसका सांसद् जितेन्द्रनारायण देवले अर्थतन्त्रलाई कसरी गतिशील र आत्मनिर्भर बनाउने भन्ने जिज्ञासा राख्नुभएको थियो । बैठकमा सो विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव बहुमतबाट स्वीकृत भएको छ । –
