काठमाडौं । अन्तर्राष्ट्रिय उडान खुलेलगत्तै एक लाख बढी नेपाली श्रमिक स्वदेश फर्किने तयारीमा रहेका बताइएकाे छ ।
प्रतिनिधि सभाकाे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले खाडी मुलुकमा रोजगारीका लागि गएका करिब १३ लाखमध्ये १ लाख २७ हजार बढी नेपाली स्वदेश फर्किने तयारीमा रहेकाे बताएकाे हाे ।
सरकारले कोरोनाका कारण अप्ठ्यारोमा परेकाहरुलाई स्वदेश ल्याएकाे भएपनि श्रम स्वीकृति सकिएका र आममाफी पाएका १ लाख २७ हजार बढी स्वदेश फर्किने तयारीमा रहेका समितिले जनाएकाे छ ।
साेमबार बसेकाे समितिकाे बैठकमा वैदेशिक रोजगार विभागका कार्यकारी निर्देशक राजन श्रेष्ठले मलेसिया, कतार, साउदी अरेबिया, युएई, कुवेत, बहराइन लगायत देशमा १२ हजार ८७ हजार ८ सय बढी श्रमिक रहेको बताउनुभयाे । तीमध्ये १ लाख २७ हजार अन्तर्राष्ट्रिय उडान खुले लगत्तै स्वदेश फर्किन सक्ने बताउनुभयो ।
सरकारले करिब ४५ हजारलाई चार्डड उडान मार्फत ल्याइरहेको भएपनि १ लाख २७ हजार श्रमिक आममाफी पाएर र श्रमअवधि सकिएर फर्किने लाइनमा रहेको उहाँले बताउनुभयो ।
निर्देशक श्रेष्ठले ०५० सालदेखि चालू आर्थिक वर्षको फागुन मसान्तसम्म ५४ लाख ९६ हजार ४ सय ६० जनाले श्रम स्वीकृति लिएको तथ्यांक रहेको समितिलाई जानकारी गराउनुभयाे । जसमा २ लाख ३७ हजार ९ सय ६१ जना महिला छन् । अहिले १४ लाख ८७ हजारको हाराहारीमा श्रमिकहरु विभिन्न देशमा कार्यरत रहेको उहाँले बताउनुभयो ।
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले विदेशबाट आउन सिफारिसमा परेकामध्ये ४ हजार २ सय १७ जनालाई सरकारले नेपाल ल्याइसकेको जानकारी दिनुभयाे । जसमा २ हजार ७ सय ४२ जनालाई प्रदेशमा पठाइएको छ ।
लकडाउन अवधिमा विभिन्न देशमा ३ सय १८ जनाको निधन भएकोमा १ सय १४ जनाको परिवारले उतै अन्त्येष्टि गर्न अनुमति दिएको उहाँले बताउनुभयो । अहिलेसम्म ४० वटा शव नेपाल आइपुगेको र अझै १ सय ६४ वटा शव ल्याउन बाँकी रहेको उहाँले बताउनुभयो ।
समितिले नेपालमा काम गर्ने विदेशी कामदारहरुले श्रम स्वीकृति लिए/नलिएको विषयमा अनुगमन गर्न श्रम मन्त्रालयलाई निर्देशन दिएको छ । अनुगमनमा स्वीकृति नलिएको पाइए तत्काल कारवाही गर्न पनि समितिले मन्त्रालयलाई निर्देशन दिएको छ ।
समिति बैठकमा सांसद्हरुले श्रमिकहरुलाई ल्याउने सम्बन्धमा सर्वोच्चले दिएको आदेशको पालना भए/नभएको बारेमा चासो राखेका थिए । नेपाल फर्किने नागरिकहरुको रोजगारी व्यवस्थापनका विषयमा पनि मन्त्रालयले गरिरहेका कामका विषयमा चासो राखेका थिए ।
