काठमाडौं । सांसद् दामोदर भण्डारीले जागिर गुमाएका नेपालीलाई भारतले कोरोना उपहार दिएर पठाएको बताउनु भएको छ ।
प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद् भण्डारीले भन्नुभयो - ‘जागिर र अवसर गुमाएका नेपाली नागरिकलाई भारतले सम्मान रुवरुप कोरोना उपहार दिएर पठाएको छ, कोसी व्यारेजका ढाेका खोलेझैँ २२ वटा नाकाबाट नागरिक आउँदा सरकारलाई केही असहज भएको हो ।’
एकैपटक मानिसहरु भित्रँदा उपचार र व्यवस्थापनका लागि सरकारलाई केही असहज भएको उहाँको भनाइ छ । अहिले असहजताका वावजुत पनि सरकारले संक्रमितको उपचार गरिरहेको, क्वारेन्टिन र आइसोलेशन व्यवस्थित बनाएको भन्दै उहाँले भन्नुभयो - ‘कोरोना रोकथाम तथा नियन्त्रणका लागि उचित बजेट छुट्याएकोमा सरकारको उच्च प्रशंसा गर्छु ।’
लकडाउनपछि भारतबाट आएका करिब ७ लाख मानिसहरुलाई व्यवस्थित रुपमा राखेको भन्दै उहाँले सरकारको प्रशंसा समेत गर्नुभयो । सुरुका तीन महिनामा सरकारले ठोस योजना बनाएर, उच्च सतर्कता अपनाएर काम गरेको बताउँदै उहाँले भारत लगायत बाहिरी देशबाट मानिसहरु आउँदा संक्रमितको संख्या बढेको बताउनुभयो ।
सुरुको एक महिनामा एक जना पनि मानिस नमर्दा केही व्यक्तिलाई चिन्ता भएको सुनाउँदै उहाँले भन्नुभयो - 'नेपालमा किन हताहती भएन किन मानिस मरेनन् यही बेला सरकारलाई ठिक पार्न सकिन्थ्यो भन्ने षडयन्त्र पनि नभएका होइनन्, तर सरकारले काममार्फत जवाफ दियो ।'
केही व्यक्तिले आफू मन्त्री हुँदा सबै जिल्लामा ल्याब बनाएको, भौतिक पूर्वाधारको व्यवस्था गरेको भनेर सदनमा बाजा बनाइएको पनि उहाँले बताउनुभयाे ।
कोरोना महामारीका बेला सरकारले चाहेको भए अध्यादेश जारी गरेर पनि बजेट ल्याउन सक्ने भएपनि सरकार र प्रधानमन्त्री अत्यन्त जिम्मेवारीपूर्वक काम गरेर बजेट अधिवेशन बोलाएर छलफलको वातावरण बनाउनु भएको बताउनुभयो ।
‘वास्तवमा सरकारको विरासत यही हो ? कसरी कुन परिस्थितिमा सरकारले काम गरिरहेको छ ? यो कुरा पनि हेक्का राख्न पनि म अनुरोध गर्छु’– उहाँले भन्नुभयो ।
अरु देशका तुलनामा विश्वका अन्य मुलुकलाई हेर्दा अहिलेपनि नेपालमा काेराेना नियन्त्रमै रहेकाे बताउनुभयाे ।
चुनौतीभित्र पनि अवसर हुन्छ भन्ने कुरा सदनबाटै प्रमाणित भएको भन्दै उहाँले मिचिएको भूमि समेटेर सरकारले संविधान संशोधन विधेयक पारित गरेर एकताको सन्देश विश्वमै दिएको छ ।
