काठमाडौं । 'नागरिकता विधेयकलाई लिएर सामाजिक सञ्जाल मात्र नभएर सदनमा समेत झुठो अभिव्यक्ति दिइन्छ, गलत हल्ला गरिन्छ, म आग्रह गर्छु, यो देशलाई हल्लै हल्लाको देश नबनाइयोस्’ - सांसद् भगवती न्यौपानेले भन्नुभयो ।
राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै नेकपाकी सांसद् न्यौपानेले यसाे भन्नु भएकाे हाे । नागरिकता विधेयकलाई लिएर विपक्षी दलले सभामा दिएका गैह्रराजनीतिक अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उहाँले सदनमा मर्यादित शब्दहरुको प्रयोग गर्न आग्रह गर्नुभयाे ।
भ्रमपूर्ण आरोपहरु नलगाउन पनि उहाँले अनुरोध गर्नुभयो । ‘नागरिकता विधेयकबारे सदनभित्र र बाहिर पनि विभिन्न ढंगले अभिव्यक्ति दिइएकाे छ, भ्रमपूर्ण अभिव्यक्ति दिने अवस्था सिर्जना गरिएको छ, झुठो अभिव्यक्ति नदिन म आग्रह गर्छु'- भगवतीले भन्नुभयाे ।
नेकपालाई मधेस विरोधी र दुई तिहाई बहुमतको दम्ब देखाएकाे भनेर आरोपहरु लगाउनु गलत रहेकाे उहाँकाे भनाइ छ ।
‘नेकपाले हरेक विषयमा निर्णय गर्दा सर्वसम्मत हुन कोशिस गर्छ, यदि सर्वसम्मत भएन भने बहुमतले निर्णय गर्छ जुन लोकतन्त्रको सुन्दर पक्ष हो, त्यसैले यस्तो अलोकतान्त्रिक कुरा गरेर सधै आरोप लगाउनु वास्तवमा नाजायज र बेठिक छ’ - भगवतीले भन्नुभयाे ।
नागरिकतासम्बन्धमा विगतमा धेरै गल्ती भएका कारण लाखौं विदेशीहरुले सजिलैसँग अंगीकृत नागरिकता लिएको भन्दै उहाँले अबदेखि नागरिकता वितरण गर्ने सम्बन्धमा नेपालले त्यस्तो कमजोरी नगर्ने बताउनुभयो ।
अाफ्नाे देशकाे कानुन संशाेधन गर्ने अधिकार नेपाललाई भएकाे बताउँदै उहाँले राष्ट्रिय मुद्दामा जथाभावी अभिव्यक्ति नदिन अाग्रह गर्नुभयाे ।
प्रतिपक्ष दलका नेताहरुले नागरिकता विधेयक भारत विरोधी भनिरहेको भन्दै उहाँले प्रश्न गर्नुभयो – ‘भारतको हकमा मात्र यस्तो मापदण्ड बनाइएको हो ? के भारतको छोरी नेपालको पुरुषसँग बिहे गरी आउन मात्रै यो मापदण्ड बनाइएको हो ? यो अरु देशका लागि हो कि होइन ? खै बुझेकाे ?’
भारतसँग जोडेर गरिएकाे प्रचार बेठिक रहेकाे बताउँदै भगवतीले भन्नुभयाे - ‘नेपालको पुरुषसँग विवाह गर्ने विदेशी महिलाको हकमा भनेर बनाउन लागिएको मापदण्ड भारतसँग मात्र कसरी भयाे ?'
नेकपा चीनसँग ढल्कियो भनेर आरोप लगाइएकोमा अापत्ति जनाउँदै उहाँले भन्नुभयो – ‘हामी चीन र भारत दुबै छिमेकीसँग मित्रवद्ध सम्बन्ध राख्न चाहन्छौं, कुनै एक देशसँग मात्र ढल्कने भन्दा पनि हामी नेपाल तिरै ढल्कन चाहन्छौं, त्यसैले राष्ट्रियताका विषयमा बोल्दा देशको अहित हुने गरी अभिव्यक्ति दिनु नाजायज कुरा हाे ।'
विगतमा अंगीकृत नागरिकता लिने विदेशी बुहारीहरुले प्रकट गरेका अभिव्यक्ति देखेकाे र सुनिएकाे बताउँदै उहाँले यस्ता कुरा हेक्का राख्नुपर्ने बताउनुभयो ।
