काठमाडाैं । प्रतिनिधि सभाको बैठकले ‘नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७६’ लाई पारित गरेको छ ।
मंगलबार बसेकाे बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गर्नुभएको उक्त विधेयकलाई बहुमतले पारित गरेको हो ।
यसअघि विधेयकका सम्बन्धमा सांसद्ले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री डा. खतिवडाले शुरुमा राष्ट्रसेवक कर्मचारीको बचतलाई प्रोत्साहित गर्न र अवकासपछिको आर्थिक जीवनलाई सहज तुल्याउन कोषको व्यवस्था गरिएको बताउनुभयो । उहाँले कोषको दायरालाई क्रमशः बढाउँदै लैजानुपर्ने अवस्था रहेको तथा सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चय कोषसँग नबाझिनेगरी विधेयक संशोधन गरिएको जानकारी दिनुभयो । त्यसअघि विधेयकको सैद्धान्तिक पक्षको छलफलमा भाग लिँदै सांसद दिब्यमणिराज भण्डारी, प्रदीप गिरी, प्रेम सुवाललगायतले सरकार र नागरिकले विश्वास गरेर जम्मा हुने कोषको रकमलाई शिक्षा, स्वास्थ्य, जलविद्युत् र कृषिलाई प्राथमिकता दिएर उपयोग गर्नुपर्ने बताउनुभयो ।
नागरिकको सरोकार र सम्मानको अवसरलाई ध्यान दिएर कोषको रकम सदुपयोग गरिनुपर्ने उहाँहरूकाे भनाइ थियाे ।
भन्सार विधेयक पेश आजको वैठकमा ‘भन्सार विधेयक, २०७७’ पेश भएको छ । वैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले सो विधेयक पेश गर्नुभएको हो । त्यसअघि सांसद प्रेम सुवालले राख्नुभएको विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो । विधेयकका सम्बन्धमा सांसद्ले उठाएको प्रश्नको जवाफ दिदैं मन्त्री डा.खतिवडाले अन्तरराष्ट्रियस्तरको भन्सार प्रणाली विकास गर्न विधेयक प्रस्तुत गरिएको बताउनुभयो ।
उहाँले नेपाल विश्व व्यापार सङ्गठनमा आबद्ध भएकाले अन्तरराष्ट्रिय व्यापारको सिद्धान्त र कार्यविधि अनुरुप नेपालको भन्सारलाई अध्यावधिक गर्नुपर्ने तथा भन्सार छुटजस्ता विषयलाई विधेयकले सम्बोद्धन गरेको जानकारी दिनुभयाे ।
