काठमाडाैं । सांसद महेश बस्नेतले संघीयताको मर्म र भावना नबुझेकाहरुले प्रधानमन्त्री र मन्त्रीहरुमाथि दाेष लगाउने गरेकाे बताउनु भएकाे छ ।
संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) विधेयकमाथिको छलफलमा बाेल्दै सांसद् बस्नेतले भन्नुभयाे- 'संघीयताकाे मर्म नबुझेरै हरेक कुरा प्रधानमन्त्री र मन्त्रीसँग ल्याएर जाेड्ने गरिएकाे छ ।'
स्थानीय तह र प्रदेशबीच सामान्य कुरामा समन्वय र अन्तरसम्बन्धको अभाव हुँदा संघीय सरकार, प्रधानमन्त्री, मन्त्रिपरिषद्मा गएर उल्झिने अवस्था रहेको सांसद् बस्नेतले बताउनुभयो ।
कतिपय अवस्थामा संघीय सरकारले राखेको ठाउँकाे बजेटलाई खर्च गर्ने कुरामा स्थानीय तहले सामान्य भन्दा सामान्य उल्झनहरु निकाल्दिने र संघ तथा प्रदेश सरकारलाई चुनौती दिने भूमिका देखिएकाे सांसद् बस्नेतले बताउनुभयाे ।
उहाँले भन्नुभयाे - 'कतिपय स्थानीय तहले हामीलाई ठूला स्मार्ट सिटी हामीलाई चाँहिदैन, रंगशाला चाँहिदैन, हामी राजधानी बनाउन दिन्नौं भनेर निकै फूर्तीसाथ भनेकाे पाइन्छ, याे संघीयताकाे मर्म नबुझेरै हाे ।’
कतिपय सन्दर्भमा नगरपालिकाले क्वारेन्टिनमा भएकालाई फूलमाला लगाएर विदा गरेको र पछि ती व्यक्तिमा कोरोना संक्रमण देखिएपछि त्याे समस्या प्रधानमन्त्री र मन्त्रीमै अाएर ठाेक्किने गरेकाे उहाँले बताउनुभयाे ।
सडकमा पोल नसारेको, हिलो भएको लगायत हरेक कुरालाई प्रधानमन्त्री तथा मन्त्रीहरुकोमा लगेर ठोक्काउने गरेको समेत सांसद् बस्नेतले बताउनुभयाे ।
हरेक कुरालाई प्रधानमन्त्री, मन्त्री र सत्ताधारीलाई ठाेक्याएर अरिंगाल जस्तो असभ्य शब्द बाेलिएकाे बताउँदै महेशले भन्नुभयाे - 'विपक्षी दलका साथीहरुले यस्ता असभ्य शब्द कहाँबाट सिक्नुभयो ? उहाँहरु अरिंगाल भन्नुहुन्छ, उहाँहरुलाई सत्ताधारीहरुले बारुला भनिदिनुभयो भने अरिगांल र बारुलाको लडाईपर्याे भने बारुलाको अस्थित्व समाप्त हुन्छ ।'
संघीयताकाे मर्म नबुझेका कारण स्थानीय तह र प्रदेशले गर्ने सामान्य कुरा पनि संघीय सरकार, प्रधानमन्त्री, मन्त्रीलाई जाेड्ने प्रवृति अाएकाे भन्दै उहाँले समन्वय र अन्तरसम्बन्ध अभावले याे समस्या अाएकाे बताउनुभयाे ।
'संघीयताको वकालत गर्ने र विषयमा ज्ञान भएको दावी गर्ने माननीय ज्युहरुलाई म के अनुरोध गर्न चाहन्छु भने संघीयताको मर्म बुझ्नुस्, क्वारेन्टिनदेखि साना साना समस्या,अन्तर विरोध, अपराधीक घटना जो स्थानीय तह तथा प्रदेशसँग सम्बन्धित छन् तीनलाई प्रधानमन्त्री, मन्त्री तथा संघीय सरकारलाई उठाउनु भनेको उहाँहरुले संघीयता नबुझेको हो र ढाेंग गरेकाे हाे’ - उहाँले भन्नुभयाे ।
उचित समयमा विधेयक पारित गर्ने चरणमा पुगिएकाे भन्दै उहाँले तीन वर्षकाे अनुभवले पनि संघीयताकाे महत्व प्रष्ट पारेकाे बताउनुभयाे ।
तीन वर्षदेखि अभ्यासमा रहेको संघीय शासन प्रणालीलाई थप प्रभावकारी बनाई कार्यान्वयनका लागि विधेयकले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । साे विधेयक प्रतिनिधि सभाबाट पारित भएकाे छ ।
