काठमाडौं । सांसद् चक्रप्रसाद स्नेहीले बैंकबाट व्याज लिएका व्यवसायीको व्याज मिनाहका लागि पहल गर्न सरकारलाई आग्रह गर्नु भएको छ ।
राष्टिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद् स्नेहीले भन्नुभयो - 'बैंकलाई अनुदान दिएर वा के हुन्छ यसमा सरकारको ध्यान जान जरुरी छ ।'
लकडाउनका कारण देशभरका व्यवसायीहरु छटपटाइरहेको बताउँदै उहाँले भन्नुभयो - 'एकातिर पेसा व्यवसाय नचल्ने अर्कोतिर बैंकले व्याज र किस्ता तिर्नका लागि बारम्बार ताकेता गर्ने यसले गर्दा उनीहरु अहिलेसम्मकै ठूलो आपत्तिमा परेका छन्, छटपटाइरहेका छन् ।'
लकडाउनले विभिन्न व्यवसायी मर्कामा परेका भन्दै उहाँले इँटा व्यवसायीको विजोग नै भएको बताउनुभयो । सार्वजनिक वस व्यवसायी कामविहीन भएको र दैनिक कारोबार गर्न समेत अप्ठेरोमा परेका भन्दै उहाँले अरु व्यवसाय गर्ने पनि मर्कामा परेका बताउनुभयो ।
क्वारेन्टाइनमा स्वास्थ्यकर्मीप्रति भएका घटना खेदजनक भएका बताउँदै उहाँले स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिन आग्रह गर्नुभयो ।
क्वारेन्टाइनबाट घर जानेहरुको विषयमा गम्भीर हुन पनि उहाँले बताउनुभयो ।
