काठमाडाैं । सांसद् विमला पाैडेलले संघीय संसद् सचिवालयका कर्मचारीहरूले सांसद्हरुलाई अप्ठ्याराेमा पारेकाे बताउनु भएकाे छ ।
राष्ट्रिय सभा बैठककाे विशेष समयमा बाेल्दै उहाँले सञ्चार माध्यमलाई सचिवालयका कर्मचारीहरुले झुठाे विवरण दिने गरेकाे बताउनुभयाे । सांसदहरूले बैठक नभएको दिनको पनि र दोहोरो यातायात भत्ता लिएको भन्ने समाचारबारे ध्यानाकर्षण गराउँनुभयाे ।
उहाँले संसद् सचिवालयलाई प्रश्न गर्नुभयाे - 'तपाईंले कुन-कुन पैसा कसरी जम्मा गर्नुहुन्छ भन्ने कुरा सांसद्लाई थाहा हुँदैन, गाडी दिएका सांसद्लाई यातायात भत्ता दिन मिल्दैन भने किन पठाइएको ? छैन भने फेरि केको हल्ला हो ? कर्मचारीले नभने पत्रकारले कसरी समाचार लेख्छन् ?'
झुठाे विवरण दिएर जनप्रतिनिधि र जनताबीचको दूरी बढाउने काम नगर्न चेतावनी दिँदै उहाँले भन्नुभयाे - 'सांसद्हरूको हुर्मत लिने काम र जनतासँग दूरी बढाउने काम नगरौं, नभएको हल्ला नफिजाअाैं ।
सांसद् पौडेलले उद्योगधन्दा पुनस्थानका कार्यक्रम ल्याउन अाग्रह गर्नुभयाे ।
