काठमाडौं । राष्ट्रिय सभा सदस्य मृगेन्द्रकुमार सिंह यादवले स्वास्थ्यकर्मीको सुरक्षा प्रति गम्भीर हुन आग्रह गर्नुभएको छ ।
कोरोनाको महामारीमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीमाथि भइरहेका कुटपिट र दुर्व्यवहारलाई तत्काल रोक्न उहाँले सरकारसँग माग गर्नुभयो । बिहीबार बसेकाे राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद् यादवले काठमाडौं, पर्सा, रौतहट, धरान, जाजरकोट लगायत ठाउँमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणले स्वास्थ्यकर्मीको मनोबल गिरेको बताउनुभयो ।
‘संकटका बेलामा काम गर्ने स्वास्थ्यकर्मीको उत्साहलाई निराशामा परिणत गर्ने काम कोही कसैले गर्न हुँदैन’- उहाँले भन्नुभयो ।
यादवले नागरिकताको विषयमा राष्ट्रियतालाई ध्यानमा राखेर अघि बढ्न पनि आग्रह गर्नुभयो । यो राष्ट्रियतासँग जोडिने विषय भएकोले गम्भीर भएर निर्णय गर्न उहाँले आग्रह गर्नुभयो ।
नागरिकता ऐन संसोधन सम्बन्धि निर्णयले नागरिकको भावनामा चोट लागेको उहाँले बताउनुभयो ।
