काठमाडाैं । 'दुई देशबीचकाे सम्बन्धमा प्रभाव पार्ने विषयका फेक न्यूज कुन कारखानामा उत्पादन भए ? कसरी प्रायाेजित ढंगले समाचार अाए ? हामी यसकाे खाेजी गर्दैछाैं' - परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भन्नुभयाे ।
साेमबार बसेकाे राष्ट्रिय सभा बैठककाे सुरुमै समय लिएर बाेल्दै परराष्ट्रमन्त्री ज्ञवालीले भन्नुभयाे - 'सो कल्ड प्रतिवेदन कस्ले कसरी बनायो, त्यसको बारेमा सरकारले अध्ययन गरिरहेको छ, गलत सूचनाले दिग्भ्रमित बनाउँछ, त्यस्तो काम नगरौँ ।'
नेपाली भूभाग चीनले हडपेकाे भन्ने समाचारकाे खण्डन गर्दै उहाँले भन्नुभयाे - 'कुनै पनि देशको कुनै इस्युमा छलफल हुन सक्छ हाम्रा सम्बन्ध पूर्ववत नै छन्, समग्र सम्बन्धको आयामलाई प्रभावित पार्नुहुँदैन त्यसैले यस विषयमा प्रष्ट पारेकाे हूँ ।'
०७७ असार १० मा केही सञ्चार माध्यममा कृषि तथा पशुपन्छी मन्त्रालयको प्रतिवेदनमा अाधार बनाएकाे भनेर प्रकाशित समाचारको खण्डन स्वय् मन्त्रालयले नै पुष्टि गरेकाे मन्त्री ज्ञवालीले बताउनुभयाे ।
समाचारमा भनिएजस्ताे ३७ र ३८ सीमास्तम्भ भाैगाेलिक अवस्थाका कारण दुई देशबीचकाे सहमतिमै खडा नै नगरिएका उहाँले प्रष्ट पार्नुभयाे ।
उहाँले भन्नुभयाे - 'नेपालकाे भूभाग चीनले मिचेको भन्ने समाचारमा कुने सत्यता छैन, सत्य र तथ्य बुझेर मात्र समाचार लेख्न, दुई देशको सम्बन्धमा प्रतिकुल प्रभाव पार्ने भ्रमपूर्ण समाचारकाे प्रभाव नपार्न मन्त्रालयले यसअघि नै प्रष्ट पारेकाे छ ।'
दुई देशबीच सीमासम्बन्धी शान्ति तथा मैत्री सन्धिमा संयुक्त रुपमा हस्ताक्षर भएको उहाँले बताउनुभयाे । हरेक १०-१० वर्षमा सीमाको निरीक्षण गर्ने समेत सहमति भइरहेको जानकारी दिँदै उहाँले तेस्रो पटकको सीमा निरीक्षणले सीमा सत्यता होस् भन्न भौगोलिक सीमा स्तम्भ राखिने निर्णय गरिएको बताउनुभयो ।
उहाँका अनुसार अहिलेसम्म नेपाल-चीन सीमाका ७९ ठाउँमा एक सय ठाउँमा बाउन्ड्री रहनुपर्ने भएपनि ९८ वटा मात्र छन् । तीमध्ये ३७ र ३८ बनेकै छैनन् । पश्चिमतिर त्रिदेशीय विन्दुका विषयमा भने टुङ्ग्याउने तयारी भइरहेको उहाँले जानकारी गराउनुभयो ।
सगरमाथाकाे उचाइ सम्बन्धमा नेपाल सरकारले गरेकाे नापकाे प्रतिवेदन अन्तिम चरणमा रहेकाे बताउँदै उहाँले केही दिनमा घाेषणा गरिने बताउनुभयाे । चीनतर्फबाट पनि नाप्ने काम भइरहेकाे भन्दै उहाँले भन्नुभयाे - 'छलफल गर्नुपर्ने विषयमा जारी छ, तीबाहेक नेपाल र चीनबीच सीमा सम्बन्धमा कुनै विवाद छैन ।'
चीनका राष्ट्रपति सी चिनफिङकाे नेपाल भ्रमणका बेला भएकाे सम्झाैता सदनमा पेस भइसकेकाे बताउँदै उहाँले त्याे कार्यन्वयन भएपछि अझ सहज हुने बताउनुभयाे ।
सांसद्हरुले उठाएका प्रश्नकाे जवाफ दिँदै उहाँले नेपाल र भारतबीच देखिएको सीमा समस्या समाधानका लागि सरकार लागिरहेकाे जानकारी दिनुभयाे ।
'हामी भारतसँग सम्पर्कमै छौं, कूटनीतिक माध्यमबाट नै समस्या समाधान हुन्छ भन्ने मान्यता र विश्वास छ, दुई देशको बहुआयामिक सम्बन्धलाई असर पार्ने कुनै पनि काम हुदैन, कुनै समस्या नपरोस् भन्नेमा सरकार सजग छ, यसमा सबैको सहयोग जरुरी हुन्छ '- उहाँले भन्नुभयाे ।
इतिहासले गाँठो नफुकाएकाले अहिले समस्या देखिएको भन्दै उहाँले भन्नुभयाे - 'याे गाँठाे फुकाउने महान जिम्मेवारी हाम्राे काँधमा अाएकाे छ, हामी याे पूरा गर्न लागिरहेका छाैं ।'
मन्त्री ज्ञवालीले सदनमा सांसद्हरु तथ्यमा आधारित भएर मात्र बोल्नुपर्ने बताउनुभयो । 'नेपालमा मिडिया व्यावसायिक बन्ने क्रममा छन्, गलत सूचना बेलाबेलामा आउन सक्छन्, पत्रिकामा केही आउनासाथ सांसद्ले अध्ययन नगरी बोलीहाल्दा राम्रो हुदैन, अझ विदेश नीति र राष्ट्रिय सुरक्षा धेरै महत्वपूर्ण भएकाले बाेल्दा ध्यान दिनुपर्छ, त्यस्ता तथाकथित प्रतिवेदन कहाँ बनाइयो, त्यसलाई कानुनी कारवाही हुन्छ ।'
नेकपा सांसद् रामनारायण विडारी, कांग्रेसका प्रकाश पन्थ र समाजवादीका प्रमिला कुमारीले दुई देशको मित्रतामा खलल पुर्याउनेलाई कानूनी कारवाही गर्नुपर्ने सुझाव दिनुभएकाे थियाे । नेपालको नयाँ मानचित्र जारी भएपछि भारतसँगको कूटनीतिक सम्बन्धबारे जिज्ञासा राख्नुभएको थियो ।
'नेपालमा मिडिया व्यावसायिक बन्ने क्रममा छन्, गलत सूचना बेलाबेलामा आउन सक्छन्, सांसद्ले अध्ययन नगरी बोलीहाल्दा राम्रो हुदैन, अझ विदेश नीति र राष्ट्रिय सुरक्षा धेरै महत्वपूर्ण कुरा भएकाले यी विषयमा ध्यान दिनुपर्छ, त्यस्ता तथाकथित प्रतिवेदन कहाँ बनाइयो, त्यसलाई कानूनी कारवाही हुन्छ ।'
