काठमाडाैं । संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७५ राष्ट्रिय सभाबाट स्वीकृत भएकाे छ ।
साेमबार बसेकाे बैठकले संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयकमाथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हाे ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट साे प्रस्ताव कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गर्नुभएको थियो ।
बैठकले अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गर्नुभएको 'नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७५ माथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस्' भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत गरेको छ ।
बैठकमा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले 'राष्ट्रिय महत्वका दस्तावेज अभिलेख व्यवस्थापन सम्बन्धी प्रतिवेदन, २०७७' सभा समक्ष पेस गर्नुभयो ।
बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०७६, खेलकूद विकास सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७६ र रेडियोधर्मी पदार्थको उपयोग तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७ प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो ।
राष्ट्रिय सभाको अर्काे बैठक यही असार १७ दिउँसो १ बजे बस्नेछ ।
-रासस
