काठमाडौं । सांसद्हरुले कोरोना रोकथाम तथा नियन्त्रणका लागि कार्यप्रणाली सुधार हुनुपर्ने बताएका छन् ।
प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिकाे बैठकमा सांसद्हरुले कार्यप्रणाली थप सुधार गर्न सरकारलाई सुझाव दिए । नेपालमा कोरोना संक्रमणको पहिलो केस देखि अहिलेसम्म आउँदा काम गर्ने तरिकामा कुनै परिवर्तन नभएकाे उनीहरुकाे भनाइ छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद् खगराज अधिकारीले स्वास्थ्य सामग्रीको खरिद, संकलन र वितरणका लागि छुट्टै केन्द्र बनाउनुपर्ने बताउनुभयो ।
आपूर्ति व्यवस्थापन महाशाखाबाट झगडा गरेर स्वास्थ्य सामग्री माग्ने, आफूले चाहेको ठाउँमा लगेर बाँडने र फोटो खिच्ने प्रवृतिले स्वास्थ्य सामग्री वितरणमा विकृति आएको उहाँले बताउनुभयो ।
उहाँले सरकारका निकायहरु स्वास्थ्य उपचारको गुणस्तर बढाउने भन्दा पनि क्वारेन्टाइन बनाउने, राहत वितरण गर्ने, खाना खुवाउने काममा लाग्दा अहिलेसम्म पनि कुनै सुधार नदेखिएको बताउनुभयो ।
सांसद् जीवनराम श्रेष्ठले नेपालमा पहिलो केस देखिएको पाँच महिना पुग्दा समेत कुनै समस्याको प्रभावकारी समाधान गर्न नसकिएको बताउनुभयो । सरकार खरिद प्रक्रियामा अल्झने र स्थानीय तहले मापदण्ड विपरित क्वारेन्टाइन तथा आइसोलेशन सेन्टर बनाउने कुरामा मात्रै केन्द्रित हुँदा समस्या जस्ताको तस्तै रहेको उहाँले बताउनुभयो ।
सांसद् हितबहादुर तमाङले कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि संघीय सरकार र प्रदेश सरकारबीच अझैपनि समन्वय हुन नसकेको बताउनुभयो । स्थानीय तहहरुबीच क्वारेन्टाइन र आइसोलेसन सेन्टर खोल्ने प्रतिस्पर्धाले पनि गुणस्तरीय काम हुन नसकेको उहाँले बताउनुभयो ।
सांसद् विद्या भट्टराईले कोराेनाका कारण हुने स्वास्थ्य समस्या भन्दा नयाँ खालको समस्या उत्पन्न भएको बताउनुभयो । काेराेनालाई स्वास्थ्यको डाइमेन्सनबाट मात्र नभएर सोसिओपोलिटिकल र इकोनोमिक डाइमेन्सनबाट पनि हेर्नुपर्ने उहाँकाे सुझाव छ ।
कोरोना संक्रमित भन्दा पनि अन्य दीर्घरोग लागेका र सुत्केरी तथा गर्भवतिले उपचार नपाउने अवस्था आउँदा अझ बढी समस्या देखिएको उहाँले बताउनुभयो । लामो समय भइसक्दा पनि क्वारेन्टाइनको गुणस्तरमा सुधार गर्न नसकेको उहाँले बताउनुभयो ।
सांसद् अन्जना विशंखेले कोरोनाका कारण समाजमा नयाँ समस्या देखिदै गएकोले अबको समस्या के हो भन्ने कुरालाई फरक ढंगले सोच्नुपर्ने बताउनुभयो । उहाँले काेराेनालाई सामाजिक हिसाबले जोडेर त्यसबाट आएका समस्या समाधानका लागि काम गर्नुपर्ने बताउनुभयो ।
