काठमाडौं । यातायात क्षेत्रका मजदूरले आवश्यक स्वास्थ्य सुरक्षा प्रोटोकल बनाएर सवारी सञ्चालन गर्न दिनुपर्ने बताएका छन् ।
बुधबार बसेकाे प्रतिनधि सभाकाे विकास तथा प्रविधि समिति बैठकमा उनीहरु साे माग राखेका हुन् लकडाउन भएकाे १ सय ७ दिन पुग्दा पनि यातायात मजदूरका समस्या सरकारले नसुनेको भन्दै उनीहरूले समस्या सम्बोधन नभए टाउकोमा कफन बाँधेर सडकमा उत्रिने चेतावनी दिए ।
बैठकमा अखिल नेपाल मजदूर संघका वरिष्ठ उपाध्यक्ष दीपक केसीले समुन्नत मानिसले चढ्ने गाडी चलेपनि सर्वसाधारण चढ्ने सार्वजनिक सवारी सञ्चालन नहुँदा समस्या भएको बताउनुभयो ।
संकटको समयमा यातायात मजदूरका लागि सरकारले समेत कुनै राहतका कार्यक्रममा नल्याउँदा अवस्था दर्दनाक बनेको उहाँको भनाई छ ।
आवश्यक प्रोटोकल बनाएर यातायात सञ्चालन गर्नुपर्ने भन्दै उहाँले मजदूरहरुको सुरक्षा ग्यारेण्टी गर्नुपर्ने, बीमा गर्नुपर्ने, स्वास्थ्य सामग्रीको व्यवस्था हुनुपर्ने तथा बैंकहरुको किस्ता र व्याजदरमा सहजिकरण गर्नुपर्ने बताउनुभयो ।
नेपाल यातायात स्वतन्त्र मजदूर संगठनका अध्यक्ष भीमज्वाला राईले निजी क्षेत्रका १० खर्ब लगानी रहेको यातायात क्षेत्रमा ११ लाख मजदूरहरु कार्यरत रहेको भन्दै १ सय ७ दिनसम्म लकडाउन हुँदा घरमा चुलो नै बल्न नसकेको बताउनुभयो ।
विगतमा २, ३ दिन मात्रै काम नपाउँदा पनि ठूलो समस्या पर्ने गरेको बताउँदै उहाँले १ सय ७ दिनसम्म कसरी, के गरेर, के खाएर बस्यौँ होला भन्दै प्रश्न गर्नुभयो । पटक पटक आग्रह गर्दा पनि सरकारले नसुनेकाले यातायात मजदूर, व्यवसायीहरु सडकमा टाउकोमा कफन बाँधेर उत्रिने दिन आउने चेतावनी दिनुभयो ।
नेपाल यातायात मजदूर संघ अध्यक्ष धर्म भण्डारीले कुनै पनि यातायात श्रमिकलाई कोरोना पोजेटिभ देखिए आइसोलेशनमा बस्ने समयअवधिसम्म उसको घर खर्चको व्यवस्थानका गर्नुपर्ने बताउनुभयो । कोरोना बिदा नगरी गाडी लिएर अहिले सडकमा आउन सक्ने अवस्था नभएको उहाँको भनाई छ ।
नेपाल विद्युतीय परिवहन संघका अध्यक्ष उमेशराज श्रेष्ठले संघ मातहतका सफा टेम्पु सञ्चालन नहुँदा व्यवसायी, स्वरोजगार, मजदूर लगायत आश्रित व्यक्ति र तीनका परिवारको जीवन निर्वाहमा समस्या भएपछि सडक आन्दोलन गर्ने अवस्थामा पुगेको बताउनुभयो ।
विद्युतीय सवारी लामो समय थन्किदा ब्याट्री समेत विग्रिएको बताउनुभयाे । लकडाउन अवधिको ब्याजदरमा विशेष छुट दिँदै पुर्नकर्जाको व्यवस्था गर्नुपर्ने उहाँकाे माग छ ।
