काठमाडौं । आवश्यक मापदण्ड पुरा गरी ट्याक्सी सञ्चालन गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।
प्रतिनिधि सभाअन्तर्गत विकास तथा प्रविधि समितिले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई साे निर्देशन दिएको हो ।
बुधबार सार्वजनिक यातायातसँग सम्बद्ध सरोकारवालाहरुको छलफलपछि समितिले सरकारलाई साे निर्देशन दिएको हो
विश्व स्वास्थ्य संगठन सरकारले आफैले तयार पारेको मापदण्ड अनुसार विभिन्न पेशा व्यवसाय सञ्चालन गरेकाे अवस्थामा आवश्यक मापदण्ड पुरा गरी ट्याक्सी सेवा सञ्चालन गर्न समितिले निर्देशन दिएको हो ।
देशको अर्थतन्त्रलाई चलायमान बनाउन पनि सेवा सञ्चालन गर्नुपर्ने समिति सभापति कल्याणी कुमारी खड्काले बताउनुभयो । उहाँले भन्नुभयो –‘सर्वसाधारणलाई आवतजावतमा थप सहजता प्रदान गर्न सार्वजनिक यातायात सम्बद्ध ट्याक्सी यातायात सञ्चालनको व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिइन्छ ।’
समितिमा भएको छलफलमा सरोकारवालाहरुले लकडाउनका कारण मजदुरहरुको दैनिकी कष्टकर बनेको, गुजारा चलाउन नसकेपछि आत्महत्या गर्ने अवस्था समेत सिर्जना भएको गुनासो गरेका थिए ।
अहिलेको अवस्थामा बैंकहरुको ऋण तिर्न समेत समस्या भएकाले त्यसतर्फ सरकारले ध्यान दिनुपर्ने सरोकारवालाहरुले बताएका छन् ।
सार्वजनिक यातायात सञ्चालनका लागि मन्त्रालय, सीसीएमसी लगायतका सरोकारवालासँग बिहीबार छलफल गर्ने तयारी समितिले गरेको छ ।
