काठमाडौं । सरिता गिरीको सांसद् पद औपचारिक रुपमै खोसिएको छ । बिहीबार संघीय संसद सचिवालयले प्रतिनिधि सभाकी सदस्य तथा समाजवादी पार्टीकी सरिता गिरिको सांसद पद रिक्त भएको जानकारी दिएकाे छ ।
पार्टी अनुशासनविरुद्ध काम गरेको भन्दै समाजवादी पार्टीले उनलाई पार्टीकाे साधारण सदस्य र सांसद् पदबाट बर्खास्त गरेकाे थियाे । गिरीको सांसद् पद रिक्त भएको संघीय संसद् सचिवालयले बिहीबार सूचना निकालेर जानकारी दिएकाे हाे ।
संघीय संसद्का महासचिव डा. भरत गौतमले जारी गरेकाे सूचनामा लेखिएकाे छ - 'समाजवादी पार्टीको समानुपातिक तर्फकी सांसद् गिरीले पार्टीको ह्विप नमानेकाले पार्टीले संसद् पदबाट निष्काशन गर्ने निर्णय गरेको पत्र सम्बन्धित दलका सचेतकबाट ०७७ असार २४ गते प्राप्त भएकाले गिरीको प्रतिनिधि सभा सदस्य पद रिक्त रहेको जानकारी गराइन्छ ।'
नेपालको नयाँ मानचित्र जारी गर्नका लागि सरकारले ल्याएको संविधान संशाेधन विधेयकमाथि संशाेधनकाे सूचना दर्ता गरेकी गिरीलाई सो प्रस्ताव फिर्ता लिन पार्टीले निर्देशन दिएको थियाे । साे निर्देशन नमानेपछि उहाँमाथि समाजवादी पार्टीले कारबाही गरेको थियो ।
यसैबीच गिरीको पक्षमा अनधिकृत अभिव्यक्ति दिएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले आयोगकी सदस्य मोहना अन्सारीको भनाईको खण्डन गरेको छ ।
आयोगका अध्यक्ष अनुपराज शर्माले आज विज्ञप्ति निकालेर आयोगकी सदस्य अन्सारीले संविधान, कानून र दलको विधानले दिएको अधिकार प्रयोग गरी गिरीमाथि गरिएको कारबाहीलाई खेदजनक तथा कथित छानविन प्रतिवेदन भनि दलको अधिकारलाई निस्तेज पार्ने गरी सामाजिक सञ्जामा व्यक्त गरेको भनाईलाई आयोगले अस्वीकार गर्ने लेख्नु भएकाे छ ।
उहाँले आयोगका सदस्यलाई भ्रम सिर्जना हुनेगरी नबोल्न सचेत गराइएको समेत बताउनुभएको छ ।
