काठमाण्डौ । नेपाल भारत सीमा क्षेत्रमा भनेका भारतीय संरचना नेपालीका लागि सधै टाउकाे दुखाइ बनेका छन् । बल्झिरहने घाउ बनेका छन् । भारतीय हस्तक्षेपका कारण नेपालले सधै डुबानकाे पीडा खेप्नु परेकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा गृहमन्त्री रामबहादुर थापाले भारतीय हस्तक्षेपका कारण नेपाल डुबानमा पर्ने गरेको बताउनुएकाे छ । उहाँले भन्नुभयाे - 'भारतको हस्तक्षेपका कारण वर्षाैँदेखि नेपालले क्षति व्यहोर्दै आएको छ, त्यसलाई रोक्न नसक्दा वर्षेनी डुबानको समस्या भाेग्नुपरेकाे छ ।'
भारतले सीमा क्षेत्रमा बनाएका बाँध, सडक लगायत संरचनाले नेपालको तराई क्षेत्र डुबानमा पर्ने गरेको बताउँदै गृहमन्त्री थापाले भारत सरकारसँग पटक-पटक भएका सन्धि सम्झौता कार्यान्वयनमा नआउँदा समस्या हुने गरेको बताउनुभयो ।
नेपाल हुँदै भारततर्फ जाने नदीलाई उसले निकास नदिँदा पनि समस्या भएकाे उहाँले बताउनुभयाे । समितिले अन्तर्राष्ट्रिय मापदण्डविपरित सीमा नजिकैका क्षेत्रमा बनेका सडक, बाँध, तटबन्ध लगायत भौतिक संरचनालाई तत्काल हटाउन पहल गर्न मन्त्रालयलाई निर्देशन दिएकाे थियाे ।
