काठमाडाैं । प्रतिनिधि सभाको महिला तथा सामाजिक समिति र प्रदेशसभाका सामाजिक समितिले हिंसा रोकथामका लागि सहकार्य गर्ने भएका छन् ।
सामाजिक र सांस्कृति कुरीतिका कारण महिलामाथि हुने हिंसा बढिरहेको अवस्थामा समितिहरुले सहकार्य गरेर काम गर्ने भएका हुन् । आइतबार महिला शान्ति र सुरक्षाका विषयमा भएको भर्चुअल छलफलमा सभ्य समाजका लागि भौतिक पूर्वाधार विकास र सामाजिक क्षेत्रको विकासमा समेत साझा धारणा बनाएर अगाडि बढ्ने निर्णय भएको छ ।
समिति सभापति निरुदेवी पालले हिंसा रोकथाम गरी समाजलाई गतिशिल बनाउन साझा धारणा विकास गर्न र सहकार्य गर्न आवश्यक रहेको बताउनुभयो ।
समितिले शान्ति र सुरक्षाका विषय मापन गर्न कठिन भएपनि उल्लेखित विषयमा विकास भएका सूचकको प्रयाेग गरी विद्यमान अवस्थामा मापन गर्न महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ । त्यसको परिणाम लिखित रुपमा समितिमा पेस गर्न पनि समितिले निर्देशन दिएको छ ।
समितिले आइतबार भर्चुअल छलफल मार्फत महिला शान्ति सुरक्षाका विषयमा प्रदेशसभाका सामजिक समिति आवद्ध सभापति र सांसदसँग अनुभव आदान प्रदान गरेको थियो ।
