काठमाडाैं । प्रतिनिधि सभाकाे रिक्त सदस्य समानुपातिक पदमा नेपाली कांग्रेसकी नेतृ सुवर्ण ज्वारचनले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
ज्वारचनलाई आज दिउँसो संघीय संसद सचिवालय सिंहदरबारमा सभामुख अग्निप्रसाद सापकोटाले शपथ खुवाउनुभएको हो ।
कांग्रेसका तर्फबाट ०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकमा निर्वाचित ज्ञानकुमारी छन्त्यालको गत असार १७ गते निधन भएकाे थियाे । त्यसपछि साे सदस्य पद रिक्त थियो । साेही सिटमा ज्वारचनलाई सिफारिस गरिएपछि अाज शपथ खुवाइएकाे हाे ।
नेकाको समानुपातिकतर्फको बन्द सूचिको क्रमसंख्या ५९ र आदिवासी जनजाति समावेशी समूहको प्राथमिकता क्रम ६ मा रहनुभएकी ज्वारचनलाई निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यमा निर्वाचित गरेको हो ।
सभामुख सापकोटाले उहाँलाई संघीय सांसद्को लोगो प्रदान गर्नुभयो ।
शपथपछि ज्वारचनले राष्ट्र, राष्ट्रियता र जनताको हितमा सदनमा खरोरुपमा आवाज उठाउने बताउनुभयो । 'हामी सबै नेपालीको प्रयासमा लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो नक्सामा समावेश भएको छ, मुलुकको सार्वभौम र स्वाधीनता जोगाउने सवालमा हामी सबै एकढिक्का हुनुपर्छ'-उहाँले भन्नुभयाे । गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ६ स्थायी घर भएकी सांसद् ज्वारचनको परिवारसँग मुलुकमा प्रजातन्त्र स्थापनाका लागि लामो सङ्घर्ष र योगदान पुर्याएको पृष्ठभूमि जोडिएको छ ।
२००२ सालमा जन्मिएर ०३६ बाट राजनीतिमा सक्रिय ज्वारचन जिविस गुल्मीको निर्वाचित उपसभापति पनि हुनुभयो । यसअघि उहाँ ०७० मा भएको दोस्रो संविधानसभा सदस्य हुनुहुन्थ्यो । दोस्रो संविधानसभा सदस्यमा निर्वाचित भएपछि उहाँले नौ महिना उद्योग तथा वाणिज्य राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
