काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले कोरोनाको बाहनामा पत्रकारलाई कामबिहीन नबनाउन आग्रह गर्नुभएको छ । सञ्चारमाध्यमलाई परेको समस्या सरकारले हेर्ने भन्दै उहाँले श्रमजिविहरुको हितलाई ध्यानमा राखेर निर्णय लिन आग्रह गर्नुभयो ।
अर्थमन्त्री समेत रहनुभएका डा. खतिवडाले प्रतिनिधि सभाकाे विकास तथा प्रविधि समिति बैठकमा भएको छलफलमा काेराेनाले परेको समस्या समाधानका लागि सहयोग गर्न सरकार तयार रहेको बताउनुभयाे ।
उहाँले भन्नुभयो - ‘तपाईहरुलाई पर्ने समस्या हामी हेर्छैं तर श्रमजिविको हितका लागि तपाई हेरिदिनुस्, कुनै पनि श्रमिजिवि कामबिहीन होउन भन्ने हामी चाहाँन्नाैँ, सरकारले यसमा थप के गर्नुपर्छ सहकार्य गर्न अर्थ र सञ्चार मन्त्रालय सहकार्य गरेर जान्छ ।’
नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले अहिलेको अवस्थामा सञ्चार माध्यम बन्द हुनु र कुनै पनि कर्मचारी वा पत्रकारको जागिर जानु सबैभन्दा दुःखद भएको बताउनुभयो । उहाँले सरकार वा अरु जुनसुकै निकायले भएपनि सञ्चारमाध्यमको पारदर्शीता कायम गर्न काम गर्नुपर्ने बताउनुभयो । मिडियाबाट कमाएको मुनाफा मेनपावर व्यवसाय वा जलविद्युतका क्षेत्रमा समेत लगानी गरे नगरेको विषय खोज्नुपर्ने उहाँले बताउनुभयो ।
नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले बिर्षेर कुनै दिन नमस्कार नगर्ने कर्मचारीलाई समेत कोरोनाको कारण देखाउँदै जागिरबाट निकाल्ने घटना बाहिर आएको बताउनुभयो । ३० औं वर्षसम्म मुनाफा कमाएका माध्यमले हामी थेग्न सक्दैनौ भनेर गरिएको व्यवहार कुनै पनि हालतमा स्वीकार्य नहुने उहाँले बताउनुभयाे । सञ्चारमाध्यमले एकपक्षीय ढंगबाट गरेका निर्णयविरुद्ध महासंघ आन्दोलनमा उत्रेको बताउनुभयो ।
छलफलमा अर्थमन्त्री खतिवडाले विज्ञापन बोर्ड गठनको चरणमा रहेकाे समेत बताउनुभयो । केही दिनभित्रै नियमावली बनाएर बोर्ड गठन हुने उहाँले बताउनुभयो । उहाँल चालू पूँजीको अभाव हुन नदिन मौद्रीक नीतिमा व्यवस्था गरिएको र सञ्चारमाध्यमको नविकरण दस्तुर शूल्क समेत मिनाहा गरेको बताउनुभयो ।
