काठमाडाैं । अर्थमन्त्री डा. युवराज खतिवडाले स्वदेशी उद्योगलाई संरक्षण गर्ने गरी कच्चा पदार्थ र तयारी वस्तुको भन्सार दरमा एक तह फरक पारिएको बताउनुभएको छ ।
प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बुधबार बसेको बैठकमा अर्थमन्त्री खतिवडाले स्वदेशी उद्योगलाई संरक्षण गर्ने गरी नै भन्सारका दर सरकारले तय गरेको बताउनुभयाे ।
भन्सार दर पुनरावलोकन मार्फत स्वदेशी उद्योगहरुको संरक्षण सम्बन्धमा समितिमा भएको छलफलका क्रममा सांसद्ले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले स्वदेशी उद्योगलाई संरक्षण गर्न तयारी वस्तुको भन्सार दर कच्चा पदार्थको भन्दा एकतह माथि राखिएको बताउनुभयो ।
आयातित वस्तुबाट न्यूनतम १० देखि बढीमा २० प्रतिशत सम्मको संरक्षणमा उद्योग व्यवसाय रहेको उहाँले बताउनुभयो । उहाँले मूल्य वृद्धिलाई नियन्त्रण गर्न पनि कच्चा पदार्थ र तयारी वस्तुको भन्सार दरमा धेरै फरक गर्न नहुने र उद्योगी व्यवसायीहरु अहिले २० प्रतिशत भित्रै रहेर प्रतिस्पर्धी बन्न सक्नुपर्ने बताउनुभयो ।
उहाँले भन्सारका दरहरु नियमित रुपमा परिवर्तन भइराख्ने भएकाले पनि व्यवसायीका समस्याहरु हरेक वर्ष समाधान हुँदै आएको बताउनुभयो । उहाँले राजस्व बोर्ड गठन गरी राजस्व सम्बन्धमा स्वतन्त्र रुपमा काम गर्न दिने व्यवस्था गर्न लागिएको बताउनुभयो । कर सम्बन्धमा हुने समस्या समाधानका लागि बोर्डले प्रभावकारी काम गर्ने उहाँले बताउनुभयो ।
स्वदेशी उत्पादनको प्रयोगका लागि तोकिएको मापदण्ड पूरा हुने र आपुर्तिमा समस्या नहुने हो भने आयोजनाहरुमा स्वदेशी वस्तुको प्रयोग गर्न कुनै समस्या नहुने मन्त्री खतिवडाले बताउनुभयो ।
सार्वजनिक खरिद ऐनले १५ प्रतिशत महँगो भएपनि स्वदेशी वस्तु खरिद गर्नुपर्ने व्यवास्था गरेकाले पनि स्वदेशमा उत्पादन हुने वस्तुको प्रयोगको सुनिश्चितता भएको बताउनुभयो । उहाँले वस्तुको गुणस्तर, समयमा आपूर्ति गर्ने र भनेको मात्रामा आपूर्ति गर्न सक्ने क्षमता विकास गर्दै त्यसको आधारबाट स्वदेशी उद्योगलाई संरक्षण दिने कुरामा सरकारले काम गरिरहेको बताउनुभयो ।
अर्थमन्त्री खतिवडाले व्यवसायीले दिने र सरकारले लिने भन्ने धारणामा परिवर्तन गर्न समेत आग्रह गर्नुभयो । सरकारले व्यवसायीक वातावरण बनाईदिने, कानून निर्माण गर्ने, पूर्वाधार तयार गर्ने, आपूर्ति व्यवस्थालाई व्यवस्थित गर्ने तथा शान्ति सुरक्षा दिने काम गरेबापत व्यवसायीबाट कर लिएको भन्दै उहाँले व्यवसायीले दिने र सरकारले लिने भन्ने कुरालाई आफू मान्न तयार नभएको बताउनुभयो ।
बैठकमा उर्जा सचिव दिनेश कुमार घिमिरेले नेपालमा उत्पादन भएका वस्तुको प्रयोग गर्ने सम्बन्धमा उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालय स्पष्ट रहेको बताउनुभयो । उहाँले नेपालमा उत्पादन हुने वस्तुको गुणस्तर पुगेमा र माग अनुसार आपूर्ति हुन सकेमा १५ प्रतिशत सम्म महँगो भएपनि प्राथमिकता दिने व्यवस्था अनुसार नै स्वदेशी वस्तुको प्रयोग भइरहेको बताउनुभयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव गोकर्णमणि दुवाडीले सार्वजनिक निर्माणका लागि खरिद गर्ने सामग्रीमा तोकिएको गुणस्तर, मापदण्ड र आपूर्ति पुरा हुन सकेको अवस्थामा स्वदेशी उत्पादनलाई नै प्रयोग गरिएको बताउनुभयो । उहाँले स्वदेशमा उत्पादन भएको वस्तुलाई कानुनले दिएको सुविधा अनुसार नै सञ्चार क्षेत्रमा प्रयोग गरिएको बताउनुभयो ।
बैठकमा सांसदहरुले उर्जा र सञ्चार क्षेत्रका आयोजनामा नेपालमै उत्पादित वस्तुको प्रयोग बढाउनुपर्ने बताए । सांसद् देवेन्द्र पौडेलले उर्जा र सञ्चार मन्त्रालय मातहतका आयोजना र कार्यक्रममा प्रयोग हुने वस्तु नेपालमै उत्पादन गर्न उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । उहाँले देशका लागि चाहिने वस्तु कति हो र कति उत्पादन यहिं हुन्छ भन्ने यकिन गरेर आयातित वस्तुलाई नियन्त्रण गर्नुपर्ने बताउनुभयो ।
सांसद सोमप्रसाद पाण्डेले देश भित्रै उत्पादन बढाउन नसके देशको अर्थतन्त्र माथि जान नसक्ने बताउनुभयो । उहाँले उत्पादन बढाउन उद्योगलाई प्रोत्साहन गर्ने नीतिगत व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
सांसद् विन्दा पाण्डेले कुनैपनि आयोजनामा स्वदेशी वस्तुको प्रयोग गर्न कम्तिमा तीन वटा मुलुकमा प्रचलन रहेको वस्तु हुनुपर्ने भन्ने व्यवस्था उपयुक्त नभएको बताउनुभयो । उहाँले देशभित्र उत्पादन भएको वस्तुलाई आफ्नै देशले प्रयोग गरे मात्र अर्को देशमा निर्यात गर्न सकिने भएकाले पनि उक्त व्यवस्थालाई संशोधन गर्न माग गर्नुभयो ।
बैठकमा सांसदहरुले स्वदेशी उद्योगबाट उत्पादन भएका वस्तुको अधिकतम प्रयोग गर्ने व्यवस्था मिलाउन अर्थमन्त्री खतिवडालाई आग्रह गरे । उनीहरुले आयातित वस्तुसँग स्वदेशमा उत्पादन भएको वस्तुले प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा भन्सार दर बढाएर भएपनि संरक्षण गर्नुपर्ने बताए ।
