काठमाडाैं । संसदीय समितिले चितवनको कुसुम खोला घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । आइतबार बसेको प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिले साे निर्देशन दिएकाे हाे ।
वन तथा वातावरण मन्त्रालयलाई चितवनको कुसुम खोलामा हात्ती लिएर जनताको घर भत्काउन र आगलागी कार्यमा प्रत्यक्ष संलग्न व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउन समितिले निर्देशन दिएको हो ।
बैठकपछि समितिका निर्णय सुनाउँदै सभापति कृष्णभक्त पोखरेलले घटनाको छानबिन गरी संलग्न व्यक्तिलाई कानुनी कारबाही गर्न र कारबाही भएको व्यहोरा समितिलाई जानकारी गराउन मन्त्रालयलाई निर्देशन दिनुभयो ।
२४ वर्षीय राजकुमार चेपाङको मृत्यु भएको सम्बन्धमा पनि सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न र मृतकको परिवारलाई उचित क्षतिपूर्तिको प्रबन्ध गर्नसमेत समितिले वन तथा वातावरण मन्त्रालयमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।
वन तथा वातावरण मन्त्रालयको सहसचिवको नेतृत्वमा छानबिन समितिको गठन भएको भन्ने जानकारी आएकोले त्याे समितिको प्रतिवेदन सात दिनभित्र समितिमा बुझाउनसमेत मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले त्याे प्रतिवेदनपछि आवश्यकताअनुसार समितिभित्रै कार्यदल गठन गरी छानबिन गर्ने निर्णय समेत गरेको छ ।
समितिले साउन ३ गते भएको साे घटना मानवता विरोधी अपराध भएको ठहर गरेको छ । हात्ती लगाएर घर भत्काउने एवं आगजनी गर्ने कार्य गैरसंंवैधानिक एवं गैरकानुनी भएको ठहर छ । समितिले संविधानले दिएको सम्मानपूर्वक बाँच्न पाउने हक र बासस्थानको हक विपरीत गइ जनतालाई विपद्को समयमा वैकल्पिक व्यवस्था विना घरबारविहीन नबनाउन मन्त्रालयलाई निर्देशन दिएको छ ।
