काठमाडौं । संसदीय विशेष समितिले तयार पारेकाे रुकुम पश्चिम चौरजहारी घटनाकाे प्रतिवेदन सरकारलाई पठाइएको छ ।
६ जना युवाकाे ज्यान जानेगरी भएकाे साे घटनाकाे सत्यतथ्य छानविन गरी प्रतिवेदन तयार पार्न प्रतिनिधि सभाले संसदीय विशेष समिति बनाएकाे थियाे । साे समितिले ताेकिएकाे समयमा घटनाकाे छानविन गरेर प्रतिवेदन तयार पारी सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको थियाे ।
साे प्रतिवेदन आवश्यक कार्यन्वयनका लागि संघीय संसद् सचिवालयले सरकारलाई पाठाएको हाे । सो प्रतिवेदन साउन ८ गते पठाइएको संघीय संसद् सचिवालयले जनाएको छ । संघीय संसद्को अधिवेशन नचलेको अवस्थामा प्राप्त प्रतिवेदन सरकारलाई पठाइएको हो ।
गत असार ३० गते रुकुम घटना छानविनका लागि गठित संसदीय समितिका संयोजक देबेन्द्र पौडेलले सभामुख सापकोटालाई प्रतिवेदन हस्तान्तरण गर्नुभएको थियो ।
गत जेठ २६ गते बसेको प्रतिनिधि सभा बैठकबाट रुकुम पश्चिम चौरजहारी घटनाको यथार्थ अध्ययन तथा अनुगमन गरी प्रतिवेदन पेस गर्न पौडेलको संयोजकत्वमा नौ सदस्यीय संसदीय विशेष समिति गठन भएको थियो ।
