काठमाडाैं । जनता समाजवादीकी सांसद् लीलादेवी सिटाैलाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले बुधबार संघीय संसदको सचिवालयस्थित कृषि समितिको हलमा समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य सिटौलालाई सपथ ग्रहण खुवाउनु भएको हाे । सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले साे जानकारी दिनुभयाे ।
सांसद्बबाट हटाइएकी सरिता गिरीकाे ठाउँमा सिटाैलालाई सांसद् बनाइएकाे हाे । जसपाले सिटौलालाई सांसद् बनाउन संघीय संसद् सचिवालयलाई सिफारिस गरेको थियो ।
सभामुख सापकोटाले उहाँलाई संघीय सांसद्को लोगो प्रदान गर्नुभयो ।
सरकारले कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायत भूमि समेटिएको मानचित्र सम्बन्धि ल्याएकाे संविधान संशाेधन विधेयकमा गिरीले संशाेधनकाे सूचना दर्ता गर्नुभएकाे थियाे । साे सूचना फिर्ता लिन जसपा संसदीय दलले निर्देशन दिएकाे थियाे तर गिरीले मान्नुभएन ।
विधेयक पारित हुने दिन पनि गिरीले पार्टी निर्देशनकाे अटेर गर्नुभयाे । त्यसपछि जसपाले पार्टीको साधारण सदस्य र सांसद् पदबाट हटाउने निर्णय गरेकाे थियाे । जसपाकाे सिफारिसमा संघीय संसद्ले गिरीकाे पद खारेज गरेकाे थियाे ।
निर्वाचन अयाेगले गिरीकाे नाम हटाएपछि सिटाैलालालाई सांसद् बनाउने बाटाे खुलेकाे हाे ।
