काठमाडाैं । राष्ट्रिय सभाका विषयगत समितिको सभापति चयनका लागि यही साउन २३ गते चुनाव हुने भएको छ । राष्ट्रिय सभाले आज सूचना जारी गरेर चुनावबारे जानकारी दिएकाे हाे ।
सूचनामा कार्यतालिका पनि उल्लेख गरिएकाे छ । जसअनुसार साउन २२ गते बिहान ११ देखि अपराह्न ४ बजेसम्म सम्बन्धित समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् प्रस्ताव गर्ने कार्यतालिका तय छ । सम्बन्धित समितिको कुनै सदस्यले राखेको प्रस्तावमा अर्को एक सदस्यले समर्थन गर्नुपर्नेछ ।
राष्ट्रिय सभाको नियमावली, २०७५ को नियम १५० को उपनियम २ बमोजिम साे प्रस्ताव दर्ता गर्नुुपर्नेछ । निर्धारित समयभित्र दर्ता भएका प्रस्तावको दर्ता क्रमअनुसार सोही दिन ४.३० बजे सूची प्रकाशन गरिनेछ ।
सम्बन्धित समितिको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने गर्ने र समर्थकले समर्थन गर्ने छन् । सो प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यतालिका तयार पारिएको सूचनामा उल्लेख छ ।
राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति चुन्न चुनाव हुन लागेकाे हाे ।
