काठमाडाैं । सांसद्हरूले कोभिड-१९ को प्रभावलाई अनुगमन गरी सुझाव दिन छुट्टै संसदीय समिति बनाउनुपर्ने माग गरेका छन् ।
सत्तारूढ र विपक्षी दलका सांसद्हरूले समिति गठनकाे माग गर्दै शुक्रबार सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापनपत्र बुझाएका छन् । शशि श्रेष्ठ, गगन थापा, भीमसेन दास प्रधान, रामकुमारी झाँक्री, राजेन्द्र श्रेष्ठ लगायत सांसद्हरूले सभामुखकाे कार्यकक्ष सिंहदरबार पुगेर ज्ञापनपत्र बुझाएका छन् ।
काेराेनाले जनस्वास्थ्यसँगै मजदूर, उद्योगधन्दा, शैक्षिक संस्था, आम उपभोक्ता, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सबै प्रभावित भएकाे ज्ञापनपत्रमा उल्लेख छ ।
‘कोभिड १९ को कारणले जन स्वास्थ्यमा प्रभाव पर्नुको साथै दैनिक ज्यालादारीमा मजदूरी गर्ने श्रमिक, उद्योगधन्दा, शैक्षिक संस्था, आम उपभोक्ता वर्ग तथा कोरोना नियन्त्रण र रोकथामतर्फ सेवा प्रवाह गर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहिको समस्या र तिनको व्यवस्थापनमा भइरहेका बेथितिको सम्बोधन गर्नेगरी कोभिडको अवस्था र प्रभावलाई मात्र अनुगमन गर्नेगरी सरकारलाई राय सुझाव दिन संसदीय समिति गठन गर्न पहल गर्ने’ - ज्ञापनपत्रमा लेखिएकाे छ ।
प्रत्येक निर्वाचन क्षेत्रमा आइसोलेशन वार्ड लगायत कोभिड १९ नियन्त्रणका लागि ०७७-७८ को बजेटबाट व्यवस्था गर्न पनि सांसद्हरूले माग गरेका छन् ।
'स्थानीय विकास साझेदारी कार्यक्रममा विनियाेजन गरिएकाे बाँकी रकम र ०७७-०७८ काे विनियाेजित रकम मध्येबाट प्रत्येक निर्वाचन क्षेत्रमा आइसाेलेशन निर्माण तथा काेराेना नियन्त्रणमा पहल गर्ने'-ज्ञापनपत्रमा उल्लेख छ ।
काठमाडाैं उपत्यकाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने २० सांसद्हरूले भदाै ११ गते तयार पारेकाे ज्ञापनपत्र शुक्रबार सभामुखलाई बुझाएका हुन् ।
