काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले संविधानसँग बाझिएका कानुन संशोधन भइसकेको बताउनु भएकाे छ ।
संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिँदै सभामुख सापकोटाले संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) कानुन बनेको तथा संविधानसँग बाझिएका कानुन संशोधन भइसकेको उल्लेख गर्नुभएकाे हाे ।
प्रदेश र स्थानीय तहले आफ्ना एकल अधिकार अन्तर्गतका कानुन निर्माण गरी कार्यान्वयनमा ल्याएको समेत सभामुख सापकाेटाले उल्लेख गर्नुभएकाे छ । संविधान गतिशील दस्तावेज भएकाे बताउँदै सभामुख सापकोटाले नीतिनिर्माण तथा राज्यका विभिन्न संयन्त्रमा समावेशिताको व्यवस्था गरिएको उल्लेख गर्नुभएकाे छ ।
सभामुख सापकोटाले शहीदको साहस, अग्रगामी परिवर्तनको तीव्र इच्छाशक्ति एवं बलिदानीपूर्ण संघर्षका कारण नेपालको संविधान निर्माण सम्भव भएको सन्देशमा उल्लेख गर्नुभएकाे छ । आजको विशेष दिनले सबैलाई संविधानको मर्म र भावनानुसार काम गर्न प्रेरणा मिल्ने विश्वास उहाँले व्यक्त गर्नुभएकाे छ ।
संविधानमा भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन आजको महत्त्वपूर्ण कार्यभार भएको उल्लेख गर्दै उहाँले संघ, प्रदेश र स्थानीय तहबीचका साझा अधिकारका क्षेत्राधिकार र प्रतिफलको हिस्साका सम्बन्धमा विवाद सिर्जना हुन नदिने प्रतिबद्दता जनाउनुभएकाे छ ।
‘संविधानअनुरुप निर्माण भएका ऐनका नियमावली निर्माणमा ढिलाइ भएको गुनासा सम्बोधन गर्नुपर्नेछ, कानुन बन्ने तर नागरिकले प्रतिफल प्राप्त गर्न नसक्ने अवस्था आउन नदिनेतर्फ सम्बद्ध सबैको ध्यानाकर्षण गराउन चाहन्छु’ - उहाँले लेख्नु भएकाे छ ।
नेपालको संविधानको धारा १०९ मा संघीय संसद्को व्यवस्थापकीय अधिकार, धारा १९७ मा प्रदेशसभाको व्यवस्थापकीय अधिकार र धारा २२१ मा स्थानीय तहको व्यवस्थापकीय अधिकारको व्यवस्था गरिएकाे उल्लेख गर्दै उहाँले लेख्नुभएकाे छ - 'तीन वटै तहले कानुनको निर्माण गर्ने अधिकार राख्ने र आवश्यकतानुसार कानुन निर्माण र कार्यान्वयन गरिरहेका छन् ।'
