बुटवल । प्रदेश नम्बर ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङलाई बनाउने प्रस्ताव प्रदेश सभामा पेस भएको छ ।
शुक्रबार बसेको प्रदेश सभा बैठकमा साे प्रस्ताव पेस भएकाे हाे । आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेश ५ को नाम लुम्बिनी र राजधानी दाङको भालुवाङलाई बनाउने प्रस्ताव पेस गर्नुभएकाे हाे ।
साे प्रस्तावमाथि शुक्रबारदेखि नै छलफल थालिएको छ । राजधानी र नामाकरण सम्बन्धी प्रस्ताव पारित गर्न दुई तिहाइ मत आवश्यक पर्छ । प्रदेश ५ मा नेकपाको दुई तिहाई मत छ । नेकपाले ह्विप समेत जारी गरिसकेकाे छ ।
राप्ती नदी नजिकै रहेको भालुवाङ बजार दाङको राप्ती गाउँपालिकामा पर्छ । साे ठाउँसँग प्युठान, अर्घाखाँची र रोल्पाका केही भाग समेत जोडिन्छन् ।
यसअघि बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश राजधानी र नामको विषयमा प्रस्ताव पास गरेको थियो । राजधानीबारे सहमति जुट्न नसक्दा प्रदेश ५ को नामाकरण र स्थायी राजधानी टुंगाे लाग्न सकेकाे थिएन ।
यसैबीच प्रदेश सभामा पेस भएकाे प्रस्तावलाई लिएर बुटवल विराेध सुरू भएकाे छ । नामका विषयमा विराेध नभएपनि राजधानीका विषयमा विराेध सुरू भएकाे हाे ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ बुटवलमा आन्दोलनमा उत्रिएको छ ।
