काठमाडाैं । प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको भालुवाङ क्षेत्रलाई तोक्ने प्रस्तावकाे समर्थन र विराेध दुबै भइरहेकाे छ ।
विशेषगरी बुटबलमा विराेध भइरहेकाे छ । बुटवलमा तनावकै अवस्था छ । कांग्रेससहितका दलले बुटवलकाे सडकदेखि सदनसम्म विराेध प्रदर्शन गरेका छन् ।
सडकमा आन्दाेलन चलिरहँदा कांग्रेस सांसद्ले सदन (प्रदेश सभाकाे आजकाे बैठक) मा ताेडफाेड नै गरे । विराेधबीच बैठक अघि बढाएकाे भन्दै कांग्रेस सांसद्हरूले बैठक कक्षभित्रका कुर्सी र माइक ताेडफाेड गरेका हुन् ।
प्रदेश ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले राजधानी दाङको भालुवाङ राख्न छलफलका लागि प्रस्ताव पेस गर्नुअघि नै कांग्रेस सांसद्हरुले विराेध गरे ।
आजकाे पहिलाे बैठक कांग्रेसले अवराेध गर्याे । दाेस्राे बैठकमा पनि कांग्रेसले विराेध गर्याे । तर सभामुखले पूर्ण घर्तीले विराेधकैबीच सदनकाे कारबाही अघि बढाउनुभयाे ।
त्यसपछि कांग्रेस सांसद्हरू वीरेन्द्र कनौडिया, वसिउद्धिन खान, रमा अर्याल, जनता समाजवादी पार्टीका सन्तोषकुमार पाण्डेलगायतले आफ्नो आवाजको सुनुवाइ नभएको भन्दै तोडफोडमा उत्रिए ।
सरकारले बिना औचित्य बुटवलबाट दाङ राजधानी सार्न लागेको भन्दै कांग्रेस र जनता समाजवादी पार्टीका सांसद्ले बैठक अवरुद्ध गरेका थिए । तर प्रतिपक्षीको विरोधकाबीच सभामुख घर्तीले बैठक अगाडि बढाउनुभयाे ।
छलफलपछि बैठक मंगलबार दिउँसो १२ बजे बस्ने गरी स्थगित भएको छ । संसद्मा आफ्नो फरक मत राख्ने र सरकारको विरोध गर्ने अनेक तरिका छन् । तर कांग्रेस कांग्रेस लगायत प्रतिपक्षी सांसद् अराजक बनेर ताेडफाेडमा उत्रिएपछि निक्कै आलाेचना भइरहेकाे छ ।
बैठककाे दृश्यपछि कांग्रेसलाई यो घटनासँग जोडेर निकै नराम्रो आलोचना गरिरहेका छन् । कतिपयले त व्यंग्य पनि गरेका छन् । कांग्रेस मात्र हाेइन आजकाे बैठकमा कानुमन्त्री केसीकाे बाेलीकाे पनि निक्कै आलाेचना भएकाे छ ।
कुर्सी तोडफोड कांग्रेसको नीति र संस्कृति विपरीत
ताेडफाेडकाे विषयलाई लिएर आलाेचना भएपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यसबारे प्रतिक्रिया दिनुभएकाे छ । सोमबार साँझ ट्विट गर्दै प्रवक्ता शर्माले प्रदेश ५ को प्रदेश सभामा भएको कुर्सी तोडफोड कांग्रेसको नीति तथा संस्कृति विपरीत भएको उल्लेख गर्नुभएकाे छ ।
कांग्नेस नेता गगन थापाले प्रदेश ५ को प्रदेश सभामा कुर्सी तोडफोड गर्ने कांग्रेसका सांसद्लाई कारबाही गर्नैपर्ने भन्दै ट्वीट गर्नुभएकाे छ ।
प्रस्तावित राजधानीकाे स्वागत
बुटवलबाट दाङ राजधानी सार्ने विराेधमा कांग्रेसले बुटवलमा सडक र सदन तताउँदा कांग्रेसका १० जनाले नेताले भने स्वागत गरेका छन् । प्रदेश ५ को राजधानी देउखुरी राख्ने प्रस्तावको कांग्रेसका ८ जना केन्द्रीय सदस्य तथा २ जिल्ला सभापतिले संयुक्त विज्ञप्ति जारी गरी स्वागत गरेका हुन् ।
केन्द्रीय सदस्य दीपक गिरी, किशोर सिंह राठौर, पार्वता डिसी, शिला खड्का, गोपाल दहित, मंगलप्रसाद थारु, योगेन्द्र चौधरी र किशोर घिमिरेसहित वर्दिया र रोल्पाका कांग्रेस सभापति सञ्जय गौतम र अमरसिंह पुनले प्रस्तावको स्वागत गर्नु भएकाे हाे ।
