काठमाडाैं । प्रदेश ५ को स्थायी राजधानी र नामकरणको प्रस्तावमा आज प्रदेश सभामा मतदान हुँदैछ ।
प्रदेश सरकारले स्थायी राजधानी दाङको भालुवाङ क्षेत्र र प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव शुक्रबार प्रदेश सभामा पेस गरेकाे थियाे । आज बस्ने प्रदेश सभा बैठकमा राजधानी र नामबारे मतदान प्रक्रियाबाट निर्णय हुने कार्यसूची छ ।
साे प्रस्तावमाथि साेमबार छलफल भएकाे थियाे । प्रतिपक्षी कांग्रेस लगायत दलकाे विराेधबीच साेमबार बसेकाे प्रदेश सभाकाे दाेस्राे बैठकमा साे प्रस्तावमाथि छलफल भएकाे थियाे ।
विराेधबीच बैठक अघि बढाएकाे भन्दै कांग्रेस सांसद्ले कुर्सी ताेडफाेड गरेर प्रदेश सभामा हंगामा मच्चाएका थिए । प्रस्तावमाथि सांसद्हरुले उठाएको प्रश्नको जवाफ आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले साेमबार नै दिइसक्नु भएकाे छ ।
दाङकाे विपक्षमा मतदान गर्न कांग्रेसकाे ह्वीप
कांग्रेसले प्रदेश ५ को स्थायी राजधानी दाङको भालुबाङ बनाउन सरकारले गरेको प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसद्लाई ह्वीप जारी गरेको छ । प्रदेश सरकारले संसद्मा पेस गरेको प्रस्तावकाे विपक्षमा मतदान गर्ने निर्णय भएकाे कांग्रेस संसदीय दलले जनाएकाे छ ।
प्रदेश सभामा प्रस्ताव पेस भएसँगै राजधानी बुटवलबाट सार्न नहुँने भन्दै सडक र सदनमा कडा विराेध भइरहेकाे छ । बुटवलमा त तनावकै अवस्था छ । राजधानी सार्ने विषयमा विराेध भएपनि नामका विषयमा भने धेरैजसाेकाे एक मत छ ।
संवैधानिक व्यवस्था अनुसार प्रदेशको नाम र राजधानीसम्बन्धी प्रस्ताव पारित गर्न दुई तिहाइ मत चाहिन्छ । प्रदेश सभामा ८७ जना सांसद् छन् । दुई तिहाइ पुग्न ५८ सांसद् भए पुग्छ । प्रदेश सभामा नेकपाका मात्रै ६१ सांसद छन् । तीमध्ये सभामुखबाहेक ६० सदस्यले मतदान गर्नेछन् ।
कांग्रेसका १९, जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका १ जना सांसद् छन् । दाङ राजधानी तोक्ने प्रस्तावमा नेकपाका १४ सांसद्ले नाेट अप डिसेन्ट लेखिसकेका छन् । तर नेकपाले दाङकै पक्षमा मतदान गर्न आफ्ना सांसद्लाई साेमबार नै ह्वीप जारी गरिसकेको छ ।
कांग्रेसका १९ सांसद्मध्ये लुम्बिनी क्षेत्रका १३ तथा राप्ती र भेरीका ६ जना छन् । पार्टीको ह्वीप उल्लंघन गरेर राप्ती र भेरीका ६ सांसद्ले प्रस्तावको पक्षमा मतदान गर्न सक्छन् ।
तर कांग्रेसका सबै सांसद्ले पार्टी ह्वीप माने र नेकपाका १४ सांसद्ले पार्टीको ह्वीप उल्लंघन गरे दुई तिहाइ पुग्न सक्दैन । कांग्रेसका ६ जनाले मात्र मतदान गरेपनि दुई तिहाइ पुग्दैन ।
जनमाेर्चाले दाङकै पक्षमा मतदान गर्ने बताइसकेकाे छ । तर उसका १ जना मात्र सांसद् मात्र छन् । यसकारण आजकाे मतदानलाई निकै महत्वसाथ हेरिएकाे छ ।
