काठमाडाैं । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश राजधानीको विषयलाई राजनीतिक आग्रह-पूर्वाग्रहको रुपमा नलिन आग्रह गर्नुभएकाे छ ।
प्रदेश सभा बैठकलाई मंगलबार सम्बाेधन गर्दै मुख्यमन्त्री पाेखरेलले सबै राजनीतिक दललाई साे आग्रह गर्नुभएकाे हाे । अर्घाखाँचीको शीतगंगा नगरपालिकाको केही क्षेत्रसमेत केन्द्रमा समेटिएको भन्दै उहाँले कुनै राजनीतिक आग्रह राखेर प्रदेश केन्द्र नतोकेको बताउनुभयाे ।
प्रदेश राजधानी प्रस्ताव गरेको तीन पालिकामध्ये दुई पालिका कांग्रेसले जितेको ठाउँ भएको भन्दै उहाँले विराेध नगर्न कांग्रेसलाई आग्रह गर्नुभयाे । उहाँले भन्नुभयाे - ‘तीन पालिकामध्ये दुईवटाको नेतृत्व प्रतिपक्ष दलका साथीहरूले नै गरिरहनुभएको छ, प्रदेश सरकारले राजनीतिक आग्रह अगाडि सारेको छैन, समग्र प्रदेशको हितलाई केन्द्रमा राखेको छ।’
प्रदेशकाे स्थायी राजधानी सम्बन्धी प्रस्ताव आफूले मात्रै नगरेकाे भन्दै उहाँले प्रदेश सभाका सांसद्हरु मध्येबाटै बनाइएको विशेष समितिको प्रतिवेदनलाई कार्यान्वयन गरिएकाे उहाँले बताउनुभयाे ।साे प्रतिवेदनमा दाङ राजधानी बनाउने कुरा पहिलो विकल्पका रुपमा राखिएले त्यसलाई प्राथमिकता दिइएको मुख्यमन्त्रीले प्रष्ट पार्नुभयाे ।
भालुवाङले प्रदेशको साझा मनोविज्ञानको प्रतिनिधित्व गर्ने भन्दै उहाँ थारु, मगर र मधेसी समुदायको भावनालाई समे भालुबाङले जोड्ने बताउनुभयाे । भालुवाङ क्षेत्र विभिन्न पहाडी क्षेत्रका बासिन्दाहरुको बाक्लो बसोबास भएको क्षेत्र भएको समेत उहाँले बताउनुभयाे ।
भालुवाङ प्रदेशको एकल नदी सभ्यता भएको ठाउँ राप्ती नदीको छेउमा प्रदेश राजधानीको परिकल्पना गरेको र सो नदीले दुई वटा आञ्चलिक मनोविज्ञानलाई जोड्ने उहाँकाे भनाइ छ ।
प्रदेश राजधानी सार्न लागेको नभइ बनाउन लागिएकाे समेत मुख्यमन्त्री पाेखरेलले स्पष्ट पार्नुभयाे । बुटवल अस्थायी राजधानी तोकिएकाले सार्न खोजिएकाे नबुझ्न आग्रह गर्दै उहाँले राजधानी बनाउन बाँकी नै रहेकाे र त्यो दाङको भालुवाङमा बनाउन लागिएको बताउनुभयाे ।
उहाँले राप्ती उपत्यकामा नबनाउन्जेल बुटवलबाटै काम गरिने जानकारी पनि दिनुभयो । प्रमुख प्रतिपक्षी दलका नेताहरुसँग छलफलको प्रयास भएपनि विभिन्न कारणले हुन नसकेको बताउनुभयाे ।
बुटवललाई आर्थिक राजधानीको रुपमा विकास गराउने निर्णय मन्त्रिपरिषद्को निर्णय भएको जानकारी दिँदै उहाँले बुटवललाई औद्योगिक केन्द्र र लुम्बिनीलाई पर्यटकीय राजधानीका रुपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभयाे ।
कुनै क्षेत्रविशेषमा केन्द्रित भएर प्रदेशको समृद्धिको कल्पना गर्न नसकिने भन्दै मुख्यमन्त्री पोख्रेलले प्रदेशका १२ जिल्लाकै समृद्धिको परिकल्पना प्रदेश सरकारले गरेको उहाँले बताउनुभयाे ।
मुख्यमन्त्री पोखरेलले प्रदेशलाई बलियो बनाउन कुनै एक क्षेत्र मात्र नभइ हरेक क्षेत्रको योगदानलाई मिलाउनुपर्ने बताउनुभयाे । उहाँले भन्नुभयाे - 'हामीले हाम्रो प्रदेशलाई बलियो बनाउन हरेक क्षेत्रको योगदानलाई मिलाउनुपर्छ, कुनै क्षेत्र विशेषको केन्द्रित भएर सोच्छौं भने यो सम्भव छैन ।'
भालुवाङ सबैकाे पायक पर्ने ठाउँमा रहेकाे पनि उहाँले बताउनुभयाे । प्रदेशको केन्द्र भालुबाङ तोकिए पनि विकासमा चिन्ता नगर्न बुटवलवासीलाई उहाँले आग्रह गर्नुभयाे । काेराेना महामारीबीच पनि प्रदेश सरकारले निरन्तर काम गरेकाे पनि उहाँले बताउनुभयाे ।
