काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा सदस्य सानु शिवा पहाडीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले बुधबार सामाजिक सञ्जाल ट्वीटरमार्फत पहाडीकाे निधनमा दुःख व्यक्त गर्नुभएको हाे ।
उहाँले लेख्नुभएकाे छ - 'हाम्रो पार्टी नेकपाका तर्फबाट प्रतिनिधि सभा सदस्य, संस्कृतिकर्मी पहाडीको असामयिक निधन भएकोमा दुःख लागेको छ, उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।'
सांसद् पहाडीकाे निधनमा वरिष्ठ नेता माधवकुमार नेपाल, सुवासचन्द्र नेम्वाङ लगायत नेताले पनि दुःख व्यक्त गर्नुभएकाे छ । पहाडी नेकपाबाट समानुपातिकतर्फ प्रतिनिधि सभामा निर्वाचित हुनुभएको थियो ।
सांसद पहाडीले नेपाली समाजको रुपान्तरण र नेपालको कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याउनुभएको थियो । सांसद् पहाडीकाे बुधबार बिहान निधन भएकाे हाे ।
