काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सदनकाे विशेष अधिवेशन बाेलाउनुपर्ने माग गरेकाे छ । याे माग कांग्रेसले काेसँग गरेकाे हाे प्रष्ट भएकाे छैन । कांग्रेस एक्लैले विशेष अधिवेशन बाेलाउन सक्दैन । किनभने उसँग ८ जना सांसद् पुग्दैन ।
प्रतिनिधि सभाकाे विशेष अधिवेशन बाेलाउन एकचौथाइ सदस्य आवश्यक पर्छ । अर्थात विशेष अधिवेशन बाेलाउन प्रतिनिधि सभामा ६९ जना सांसद् चाहिन्छ ।कांग्रेससँग ६१ जना मात्र सांसद् छन् ।
पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा असाेज १४ बसेको केन्द्रीय पदाधिकारी र केही नेतासहितको बैठकले सरकालाई सदनकाे विशेष अधिवेशन आह्वान गर्न दबाव दिने निर्णय गरेको थियाे ।
साेही विषयमा केन्द्रीय समिति बैठकमा छलफल गर्ने तय थियाे । तर केही केन्द्रीय सदस्यमा काेराेना देखिएपछि कांग्रेस बैठक दशैंपछि धकेलिएकाे छ । कांग्रेसले विज्ञप्ति निकालेर समेत विशेष अधिवशेन बाेलाउनुपर्ने माग गरेकाे छ ।
काेराेना अहिले आगाेजस्तै फैलिदै छ । विज्ञका अनुसार याे अझै बढ्ने सम्भावना छ । देशभर धेरै मानिस कोरोना संक्रमणमा परेका छन् । त्यसमा मन्त्री, सांसद्देखि कर्मचारी समेत छन् । कांग्रेसले विज्ञप्ति जारी गरेजस्ताे विशेष अधिवेशन तत्काल बाेलाउन सहज छैन ।
विशेष अधिवेशन बाेलाउन प्रतिनिधि सभाका एकचौथाइ सदस्य आवश्यक पर्छ । संवैधानिक व्यवस्थाअनुसार विशेष अधिवेशन माग गर्न प्रतिनिधि सभाका एकचौथाइ सदस्यले राष्ट्रपतिलाई लिखित अनुरोध गर्नुपर्छ ।
प्रतिनिधि सभाका कुल २ सय ७५ (एक जनाकाे निधन) सदस्यमध्ये अफताब आलम र विजयकुमार गच्छदार निलम्बन भएपछि कांग्रेससँग ६१ जना मात्र सांसद् छन् ।
नेपालको संविधानको धारा ९३ (३) मा विशेष अधिवेशनमा माग गर्न सक्ने व्यवस्था उल्लेख छ । साे धारामा लेखिएकाे छ - ‘राष्ट्रपतिले प्रतिनिधि सभाको अधिवेशन चालु नरहेको वा बैठक स्थगित भएको अवस्थामा अधिवेशन वा बैठक बोलाउन वाञ्छनीय छ भनी प्रतिनिधि सभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यहरूले लिखित अनुरोध गरेमा त्यस्तो अधिवेशन वा बैठक बस्ने मिति र समय तोक्नेछ ।’
कांग्रेसले अब विशेष अधिवेशन बाेलाउनका लागि दबाव सदनमा प्रतिनिधित्व गर्ने अन्य दलसँग छलफल गर्नुपर्नेछ । त्यसका लागि कम्तिमा पनि अन्य दलका ८ जना सांसद्को सहयाेग कांग्रेसले लिनुपर्छ ।
दशैंपछि छलफल थाल्छाैं
पार्टीसँगै सदनमा प्रतिनिधित्व गर्ने दलसँग छलफलका लागि तयारी थालिएकाे कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँड बताउनुहुन्छ । 'केही साथी संक्रमित हुनुभयाे त्यसकारण छलफल गर्न सकिएन, अब दशैंपछि सदनमा प्रतिनिधित्व गर्ने अन्य दलसँग पनि छलफल गर्छाैं' - खाँडले भन्नुभयाे ।
आम नागरिकको जीवन रक्षाका लागि सरकार गम्भीर हुन नसकेका कारण कांग्रेसले विशेष अधिवशेन माग गरेकाे खाँडले सनराइज खबरसँग बताउनुभयाे ।
सरकारकाे पहिलाे दायित्व नागरिकलाई अकाल मृत्युबाट बचाउने भएपनि त्यसमा सरकार गम्भीर नभएकाे खाँडले बताउनुभयाे । उहाँले भन्नुभयाे - 'काेराेना नियन्त्रणमा सरकार गम्भीर भएन, एकातिर वेहाेस नहुँदासम्म अस्पताल नजाउ भन्छ, अर्काेतिर पीपीई नलगाइ बिरामी नछाेउ भन्छ, पीपीई लगाएकाले धान्ने अवस्था पनि छैन ।'
चीनकाे वुहानमा काेराेना देखिएकै बेला कांग्रेसले संक्रमणकाे सम्भावित जाेखिमबारे सरकारकाे ध्यानाकर्षण गराएकाे समेत खाँडले बताउनुभयाे । त्यतिबेला नै सदनमा जरूरी सार्वजनिक महत्वकाे प्रस्ताव राखेकाे उहाँले सुनाउनुभयाे । सरकारले कांग्रेसकाे कुरालाई गम्भीर रूपमा नलिँदा अहिले संक्रमण बढेकाे उहाँकाे ठहर छ ।
'चीनमा देखिएकाे काेराेना भाेलि नेपाल पनि आउन सक्छ, आवश्यक तयारी गराैं र संरचना बनाऔं भन्दा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बेइजिङमा पानी परेर काठमाडाैंमा छाता ओड्ने हाेइन भनेर हल्का लिनुभयाे, अहिले काेराेना भयावह बन्दैछ' - खाँडले भन्नुभयाे ।
काेराेनाले मानवीय क्षतिसँगै आर्थिक क्षति निम्त्याएकाे उहाँले बताउनुभयाे । काेराेना फैलिएपछि पनि आइसाेलेशन र जनशक्ति थप लगायत कुरालाई व्यवस्थित गर्न नसक्दा गम्भीर अवस्था आएकाे उहाँले बताउनुभयाे ।
राेजगार गुमेका श्रमिककाे व्यवस्थापन कसरी गर्ने, व्यवसायी र उद्याेगीलाई कसरी राहत दिने भन्नेमा सरकारकाे ध्यान नगएकाे समेत उहाँले बताउनुभयाे । पर्यटन, यातायात लगायत सबै व्यवसायीकाे हालत दयनीय रहेका बेला सरकार भएकाे अनुभूति हुन नसक्नु दुःखद कुरा भएकाे खाँडले बताउनुभयाे ।
लकडाउनकै बेला कांग्रेसले जरूरी सार्वजनिक महत्वकाे प्रस्ताव सदनमा दर्ता गरेकाे भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले थाहै नदिइ एकलाैटी रूपमा अधिवेशन अन्त्य गर्नुभएकाे खाँडले बताउनुभयाे ।
त्यसकारण अहिले विशेष अधिवेशन बाेलाउन पार्टी सैद्धान्तिक रूपमा तयार रहेकाे उहाँकाे भनाइ छ । त्यसका लागि सदनमा रहेका सबै दलसँग दशैंपछि संवाद गरिने खाँडले जानकारी दिनुभयाे । जनसराेकारका विषयमा सबै दल एक हुनुपर्ने पनि उहाँले बताउनुभयाे ।
छलफल, हस्ताक्षरतिर लाग्दा समय घर्किएपछि अधिवेशन बाेलाएर अर्थ छ त ? भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ - 'हामीले पहिला नै यी कुरा उठाएका हाैं, संसदीय दलले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझायाे, पार्टी सभापतिले पटक-पटक भेटेर गम्भीर हुन अनुराेध गर्नुभयाे, वरिष्ठ नेतासहितकाे टाेलीले पनि काेराेना राेकथाममा गम्भीर हुन भन्दै ध्यानाकर्षण पत्र बुझायाे तर सरकारले सुनेन,अहिले त हात उठाइसक्याे ।'
केन्द्रीय समितिका केही सदस्य काेराेनाबाट संक्रमित भएकाले बैठक बस्न नसकेका कारण छलफल पछि धकेलिएकाे खाँडले बताउनुभयाे । 'काठमाडाैंमा संक्रमण उच्च छ, जिल्ला गएका सांसद्लाई दशैंमा आउनुस् भन्न पनि व्यवहारिक भएन, त्यसैले दशैंपछि छलफल थालिहाल्छाैं' - उहाँले भन्नुभयाे ।
जिल्ला गएका सांसद् फर्किएपछि र अन्य दलकाे सहयाेग लिएपछि विशेष अधिवेशनका लागि दबाव दिइने उहाँले बताउनुभयाे । पटक पटक ध्यानाकर्षण गराउँदा पनि सरकारले गर्छु भन्दै टारेकाे बताउँदै उहाँले भन्नुभयाे - 'सरकारले अब जेसुकैहाेस भनेर हातखुट्टा छाेडिदिएकाे छ ।'
कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले पनि काेराेना नियन्त्रणमा सरकार गम्भीर नभएकाे बताउनुभयाे । विशेष अधिवेशनका लागि एकचाैथाइ सदस्य नपुग्ने भएकाले अरू दलसँग छलफल र सहमति गरेर प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयाे ।
विशेष अधिवेशनकाे आवश्यकता र औचित्य के भन्ने कुरा पनि महत्वपूर्ण रहेकाे भन्दै उहाँले सरकार गम्भीर हुन नसकेकाले ती विषयलाई सदनमा उठाउनुपर्ने बताउनुभयाे । सरकारलाई जवाफदेही बनाउन र जनताका आवश्यकता सम्बाेधन गर्न सदन नै चाहिने भुसालले बताउनुभयाे ।
सरकारले सरकार बनाउन सक्ने, अरू नियुक्ति गर्न सक्ने तर काेराेनामा केही गर्न नसक्नु विडम्बना रहेकाे भुसालले बताउनुभयाे । काेराेनासँगै भ्रष्टाचारकाे विषयलाई लिएर विशेष अधिवेशन बाेलाइने भएकाले अरू विपक्षी दलकाे पनि साझा एजेण्डा बन्ने उहाँले बताउनुभयाे । 'दशैंपछि अरू विपक्षीसँग पनि छलफल गरेर दलिय समझदारी गरेर मात्र हस्ताक्षर हुन सक्छ'-भुसालले भन्नुभयाे ।
प्रतिपक्षी भूमिकामा कमजाेर
प्रतिपक्षको धर्म सत्तापक्षले गरेका गलत कामको आलोचना गर्नु हो । गलत कामको आलोचना गरेर सत्ता पक्षलाई सही बाटोमा हिँडाउनु पनि उसको धर्म हो । तर नेपालमा त्यो अभ्यास अलि कम नै छ । प्रतिपक्ष भएपछि राम्रो होस् कि नराम्रो सत्ता पक्षको विरोध गर्नैपर्छ भन्ने सोचाइ छ ।
अहिले प्रतिपक्षमा रहेकाे कांग्रेसले त्यही गरिरहेकाे छ । सरकारकाे जति विराेध गर्छ त्यति नै रूपमा कांग्रेस प्रतिपक्षी भूमिकामा सक्रिय छैन । कांग्रेसमाथि साना मुद्दा (बाटाेका) मा सरकारकाे विराेध गर्ने तर ठूला मुद्दामा नबाेल्ने आराेप पनि लाग्ने गरेकाे छ । कतिपय विषयमा कांग्रेस समय घर्किएपछि मात्र बाेल्छ ।
कतिपय विषयमा बाेल्छ, चर्का नारा लाउँछ तर काम गर्दैन । आफूले उठाएका मुद्दा बीचैमा छाडिदिन्छ । समग्रमा प्रतीपक्षी भूमिकामा कांग्रेस निष्क्रिय छ भन्दा फरक पर्दैन ।
