काठमाडाैं । नेपाली कांग्रेसकी सांसद् डा. डिला संग्रौला पन्तले सबै सांसद्ले दशैं भत्ता पावतको रकम फिर्ता गर्नुपर्ने बताउनु भएकाे छ ।
एक-दुई जना सासंद्ले मात्र रकम फिर्ता गरेर नहुँने बताउँदै उहाँले भन्नुभयाे - 'दशैं भत्ता व्यक्तिगत नभइ संस्थागत रुपमै फिर्ता गर्नुपर्छ, एक-दुई जना सासंद्ले मात्र रकम फिर्ता गरेर हुँदैन ।'
आफूहरूकै दवाबपछि पार्टीले सबै सांसद्लाई रकम फिर्ता गर्न निर्देशन दिएकाे संग्राैलाले सनराइज खबरसँग बताउनुभयाे । फाेन र सामाजिक सञ्जालमार्फत नेतृत्वलाई निर्णय गर्न दवाब दिइएकाे उहाँले बताउनु भएकाे थियाे । संग्राैलासहित सांसद् प्रकाशमान सिंह,लगायतले संसदीय दलबाट औपचारिक रूपमा निर्णय गर्नुपर्ने बताउनु भएकाे थियाे ।
संग्राैलाले सिंगो संसदीय दलले सामूहिक निर्णय गरि सबै सासंद्ले पाउने दशैं खर्चको रकम कोरोना परिक्षण र उपचार खर्चमा लगाउनुपर्ने सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गर्नुभएकाे थियाे । सांसद संग्रौलाले कोरोना महामारीका कारण जनता विचल्लीमा परेको अवस्थामा सांसद्हरुले पाएको दशैं भत्ता वापतको रकम कांग्रेस संसदीय दलले सामूहिक निर्णय गरेर फिर्ता गर्नुपर्ने उल्लेख गर्नुभएकाे थियाे ।
‘सासंदहरुलाइ दसैं खर्च वितरणको प्रसंग र कोरोना महामारीको परिक्षण र उपचार ब्यक्ति आफैले गर्नु पर्ने सरकारको निर्णय प्रति आम नेपाली जनता सामाजिक सन्जालमार्फत समेत आक्रोसित बन्नपुगेका छन्, एक-दुई जना सासंदले दसैं खर्च फिर्ता गरेर मात्र हुन्न । सिंगो संसदीय दलले सामूहिक निर्णय गरि सबै सासंदले पाउने दसैं खर्चको रकम कोरोना परिक्षण र उपचार खर्चमा लगाइनु पर्दछ’- उहाँले लेख्नुभएकाे थियाे ।
आधारभुत स्वास्थ्य नागरिकको मौलिक हक संविधान र सर्वाेच्च अदालतको परमादेश विपरित गरेको निर्णयलाई अबिलम्ब सच्याउन उहाँले सरकारलाई आग्रह गर्नुभएकाे छ । उहाँले लेख्नुभएकाे छ - 'आधारभुत स्वास्थ्य सेवालाई निशुल्क गरियोस् ।'
संग्राैलाले जनताको हितमा काम नगर्ने हो भने सरकार र जनप्रतिनिधि केको लागि? भनेर प्रश्न पनि गर्नुभएकाे छ ।
