काठमाडाैं । प्रतिनिधि सभाका सांसद् एंव पूर्वमन्त्री महेश बस्नेतले दशैं भत्तावापतकाे रकम भक्तपुर अस्पताललाई दिनु भएकाे छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य समेत रहनुभएका सांसद् बस्नेतले साे रकम आज अस्पताललाई हस्तान्तरण गर्नुभएकाे छ ।
सांसद् बस्नेतले अस्पताल पुगेर अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवाल र मेडिकल सुपरिटेण्डेण्ट डा. सुमित्रा गौतमलाई ६५ हजार हस्तान्तरण गर्नुभएकाे हाे । अस्पतालमा सेवा लिन आउने गरीब, विपन्न र असहाय बिरामीको उपचारका लागि खर्च गर्नेगरी साे रकम दिइएकाे उहाँले बताउनुभयाे ।
विगतमा भूकम्पका बेलापनि तलब भत्ता मात्र नभइ सहयोग जुटाएर जनसेवा गरेको उहाँले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गर्नुभएकाे छ । बाढी-पहिरो, विपद् व्यवस्थापन, कोरोना, असाहाय गरिबलाई सहयोग गर्ने विषयमा पटक पटक तलब भत्ता र अन्य सहयोग गर्दै आएको पनि उहाँले उल्लेख गर्नु भएकाे छ ।
जन सेवा र समाज सेवामा कोही आफूलाई अब्बल ठान्ने मिडियाकर्मी र कथित बुद्धिजीवी भन्दा धेरै गरिएको उल्लेख गर्दै बस्नेतले लेख्नुभएकाे छ - 'आज मात्रै पनि दशैं साधारण खर्चमा मनाउने सोचका साथ भक्तपुर अस्पतालमा उपचार गर्ने गरिब र असाहाय बिरामीलाई आफ्नो तलब बाट रु ६५ हजार सहयोग गरेको छु ।'
भत्ता कुनै सांसद्हरूले मागेर नलिएकाे भन्दै उहाँले सरकारकाे वदनाम गराउन निउँ बनाइएकाे उल्लेख गर्नुभएकाे छ ।
उहाँले लेख्नुभएकाे छ - 'के निहुँ पाउँ र सरकारलाई बदनाम गराउँ भनेर लागेका केही मिडिया, अराजक बुद्धिजीवी र सामाजिक संजालका सकृय साथीहरुले बडो काम पाएका छन्, सांसदहरुले दशैं भत्ता लिए भन्ने नाउमा जसरी बदनाम गराउने खेल भइरहेको छ, यो निन्दनीय छ, भत्ता कुनै सांसद्ले मागेर लिएको होइन, सरकारको प्रणालीले स्वत्त बैकं खातामा जम्मा हुने व्यवस्था हो ।'
दशैं भत्तालाई कोरोना विरूद्धको अभियानमा लगाऔं भन्दा कुनै पनि सांसद्ले विरोध नगरेकाे पनि उहाँले उल्लेख गर्नुभएकाे छ । जीवन शैली सरल र पारदर्शी बनाउनु आवश्यक रहेको उल्लेख गर्दै सांसद् बस्नेतले चाडपर्व तडकभडक गरेर मनाउनुभन्दा गरिब र असहायलाई सहयोग गर्नुपर्ने बताउनुभएकाे छ ।
पार्टीले सरकारले भत्ता कोरोना कोषमा राख्न गरेको निर्णय स्वागत योग्य रहेकाे बस्नेतले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएकाे छ । सांसद बस्नेतले अस्पतालमा कोभिड-१९ का बिरामीको उपचारबारे जानकारी लिँदै अतिसघन कक्ष र कोभिड ब्लकको अनुगमनसमेत गर्नुभएकाे छ ।
यस बर्ष सांसद् विकास कोषबाट सूर्य विनायक नगरपालिकाको सहकार्यमा १५ दिन भित्र आइसीयू र भेन्टिलेटरसहितको कोभिड अस्पताल बनाउन १ कराेड ५० लाख छुट्टाएको पनि उहाँले जानकारी दिनुभएकाे छ ।
नेपाल कोरिया मैत्री अस्पतालमा नेपाली युवा वैज्ञानिकले बनाएको रबर्ट नर्सिङ्ग र भेन्टिलेटर राख्न मध्यपुर थिमी नगरपालिकाको सहकार्यमा ५० लाख बजेट छुट्टाएको समेत बस्नेतले उल्लेख गर्नुभएकाे छ ।
